शिवमाया बनिन् जिल्लाकै एक्ली महिला वडाध्यक्ष

by समतल अनलाइन

खोटाङ । साकेला गाउँपालिका–३ खिदिमामा शिवकला राई जिल्लाकै एक्लो महिला वडाध्यक्षका रुपमा विजयी भएकी छन् ।

दुई नगरपालिका र आठ गाउँपालिकाका ७९ वडामध्ये ७८ वडामा पुरुष वडाध्यक्ष हुँदा शनिबार सम्पन्न उपनिर्वाचनमार्फत उनी जिल्लामै एक मात्र महिला वडाध्यक्ष बन्न सफल भएकी हुन् ।

तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित पति मणिकुमार राईको निमोनियाका कारण गत वैशाख ९ गते मृत्यु भएपछि रिक्त पदपूर्तिका लागि गरिएको उपनिर्वाचनमा नेकपाले सहानुभूतिस्वरूप उम्मेदवार उठाएपछि शिवकला वडाध्यक्षमा निर्वाचित भएकी हुन् । शिवकलाले आफ्नै पतिको निधन भएपछि वडाध्यक्षको कुर्सीमा पुग्ने अवसर पाएकी हुन् ।

उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार शुक्र तामाङलाई १७ मतले पछि पार्दै नेकपाका उम्मेदवार शिवकला वडाध्यक्षमा निर्वाचित भएकी हुन् । खसेका सात सय ९८ मतमध्ये उनले तीन सय ९१ मत र शुक्रले तीन सय ७४ पाएका छन् । खिदिमामा कुल मतदाता एक हजार तीन सय तीनमध्ये पाँच सय पाँच मत नखसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेका उम्मेदवार मणिकुमारले दुई सय ७९, तत्कालीन माओवादी केन्द्रका उम्मेदवार राजेन्द्रकुमार राईले दुई सय ७१ र कांग्रेसका उम्मेदवार चौककुमार राईले एक सय ५८ मत प्राप्त गरेका थिए । यस हिसाबले कांग्रेसलाई हारका बाबजुद पनि उत्साह मिलेको देखिएको छ ।

 
 
  
 

You may also like