महकाली किनारमा लिपुलेक सडक खन्दै भारत, महाकाली थुनिने खतरा

by समतल अनलाइन

दार्चुला । भारतले नेपाल–भारत सीमा नदी महाकालीको किनारै किनार लिपुलेक सडक निर्माण गर्दा नदीको बहाव थुनिने खतरा बढेको छ ।

भारतले व्यास गाउँपालिका–१ र २ को पारिपट्टि चट्टान फुटाएर सडक निर्माण गर्दैछ । त्यसका क्रममा खस्ने ढुंगा र माटो नदीमा थुप्रिएर बहाव थुनिने खतरा बढेको हो ।

सडक निर्माणका क्रममा निस्केका ठूला ढुंगा नदी किनारमा फालिएको छ । ‘त्यसले धैरै ठाउँमा नदी ताल परेको छ,’ व्यास गाउँपालिका–२ दुम्लिङका स्थानीय दीपेन बुढाथोकीले भने, ‘दुम्लिङदेखि माथिल्लो क्षेत्रमा महाकाली साँघुरिएर बगिरहेको छ ।’

व्यास गाउँपालिका–५ धौलाकोटको पारितर्फको तवाघाटदेखि महाकाली नदी साँघुरिँदै गएको छ । सडक निर्माणका क्रममा चट्टान फोर्न प्रयोग गरिएको विस्फोटले पनि नेपाली बस्तीलाई जोखिममा पारेको छ । तवाघाट, तिउतला, बत्तिघाट, पांगलादेखि गर्भासम्म भारततर्फ र नदीको बीचसम्म ठूल्ठूला ढुंगा फालिएको छ ।

गर्भादेखिको माथिल्लो क्षेत्रमा भारततर्फको चट्टानी भूभाग फोरेर सडक खन्न विस्फोट गराउँदा त्यसको असर नेपाली भूभागसम्मै परेको बुढाथोकीको भनाइ छ ।

केही दिनअघि व्यास गाउँपालिकाका अध्यक्ष दिलीपसिंह बुढाथोकी, दार्चुला–तिंकर योजनाका प्रमुख अच्युत पन्तलगायतको प्राविधिक टोलीले भारतले बनाइरहेको सडक र त्यसको असरबारे स्थलगत निरीक्षण गरेका थिए । विस्फोटकै कारण दुम्लिङदेखि दोपखेसम्मको दार्चुला–तिंकर घोरेटो बाटो ठाउँ ठाउँमा भत्किएको छ ।

विस्फोटका कारण माल्पा, घाटिबगडलगायत नेपाली भूभागमा पनि क्षति पुगेको व्यास गाउँपालिकाले जानकारी दिएको छ । ०७० सालमा पनि धौलीगंगा जलविद्युत् परियोजनाको ड्याम खोल्दा महाकाली तटीय क्षेत्रमा ठूलो जोखिम उत्पन्न भएको थियो ।

अहिले पनि महाकाली थुनिए तल्लो क्षेत्रका बस्तीलाई ठूलो क्षति पुग्ने स्थानीय बताउँछन् । ‘तटीय क्षेत्रका ती सबै बस्ती जोखिममा छन्,’ स्थानीय जयदेवसिंह धामीले भने, ‘दार्चुलालगायत अन्य जिल्लामा पनि यसले असर र्पुयाउनेछ ।’ यही सडकको असरले व्यास गाउँपालिकाले बनाएको बाटो बर्खाका बेला भत्कने गरेको उनको भनाइ छ ।

भारतले सन् २०२० भित्र लिपुलेक नाका जोड्ने गरी सडक निर्माण गर्दै छ । गर्भादेखि माथिल्लो क्षेत्र र लिपुलेकबाट तल गरी दुई ठाउँबाट सडक निर्माणाधीन छ । भारतले सीमा क्षेत्रमा दुई लेनको सडक दशकअघि निर्माण थालेको हो । कान्तिपुर दैनिकबाट

 
 
  
 

You may also like