गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ मा वडाध्यक्ष पदको लागि उपनिर्वाचन आज हुदै

by समतल अनलाइन

तम्घास । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६ रिमुवामा वडाध्यक्ष पदको लागि आज हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । मतदानस्थलमा सुरक्षा अवस्था, मतपत्रको सुरक्षा, आवश्यक सामग्रीको उपलब्धतालगायतका पक्षमा तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनको लागि जनज्योति प्राविधिक तथा साधारण माध्यमिक विद्यालयमा दुई वटा केन्द्र निर्धारण, दुईवटै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत एक÷एक जना, सहायक कर्मचारी दुई÷दुई र स्वयम् सेवक चार÷चार जना नियुक्त गरिएको छ ।

प्रत्येक केन्द्रमा पाँच÷पाँच जना सुरक्षाकर्मी खटिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए । उपनिर्वाचनमा वडाध्यक्षको लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट गिरीप्रसाद सिञ्जाली, नेपाली काँग्रेसको तर्फबाट वेदबहादुर दर्लामी र स्वतन्त्र उमेदवार मनबहादुर दर्लामीले उमेदवारी दिएका छन् । सिञ्जालीको सूर्य, वेदबहादुरको रुख र स्वतन्त्र उमेदवार मन बहादुरलाई सोली चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

नेकपाका तर्फबाट उमेदवारी दिएका सिञ्जाली ०७४ असारमा भएको स्थानीय तहको निर्वाचनबाट वडासदस्यमा निर्वाचित भएका थिए ।

काँग्रेसबाट उमेदवारी दिएका वेदबहादुर पनि यसभन्दा अगाडि दुईवटा चुनावमा थिए । विसं २०५४ सालमा भएको रिमुवाको गाविस अध्यक्ष र २०७४ असारमा सोही वडाको वडाध्यक्षको उमेदवार थिए तर २०५४ सालमा ८६ र २०७४ सालमा नौ मतले पराजित भएका थिए ।
रासस

 

 
 
  
 

You may also like