बुटवल। एम्स कलेज बुटवलको आयोजनामा बुटवलमा नवौ शरिमा नेपाली टोपीसहित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । स्कलर्स होम बोर्डिङ स्कुल र काउन्सिल अफ एम्सको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा कलेज परिसरमा बुधबार वृहत रक्तदान कार्यक्रम गरिएको हो ।
एक कार्यक्रमका बिच वडा नं ८ का वडाअध्यक्ष प्रदिप कुमार श्रेष्ठले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गर्दै स्वदेशमा नै गुणस्तरीय शिक्षा प्रदान गर्न कलेज सफल भएको बताए । युवाहरुलाई शिक्षासंगै सामाजिक कार्यमा अग्रसर गराउन विभिन्न सामाजिक संस्थाहरुमा आवद्धता गराउने र रक्तदान, न्यानो कपडा वितरण जस्ता कार्यक्रमहरु गरेर समुदायप्रतिको उत्तरदायित्व समेत बहन गर्न सफल भएको उनले बताए ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदानको महत्वबारे प्रकाश पार्दै समुदायसम्म यो संन्देश लैजान जरुरी रहेको बताए । रक्तदान गर्दा निशुल्क रुपमा रक्तदाता स्वास्थ रहेको प्रमाण प्राप्त हुने भन्दै यसबाट ल्याबमा परिक्षण गर्दा लाग्ने ठूलो खर्च बच्ने उनले बताए । प्रत्येक ३ महिनामा नया रगत उत्पादन हुने भएकाले पनि रक्तदान गर्न उनले आग्रह गरे । ‘रक्तदान नगर्नु भनेको रगत नष्ट गर्नु हो ।’–उनले भने ।
कलेजका प्राचार्य दिपक ढकालले कार्यक्रमबारे प्रकाश पार्दै टोपी दिवस ब्राण्डको रुपमा पहिचान बनाउन सफल भएको बताए ।
कार्यक्रममा विद्यालय प्राचार्य बाबुराम बन्जाडेले, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनोहरि बश्याल, क्यासका निवर्तमान अध्यक्ष लक्षिता खनाल, क्यासका पुर्व अध्यक्ष ईसा भट्टराईले संस्कृति जर्गेनासंगै सामाजिक क्षेत्रमा कलेजबाट सानै भएपनि योगदान दिन सफल भएको बताए ।
यसैबिच कलेजबाट बिबिएसमा उच्च अंक ल्याएर उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको कार्यक्रम संयोजक यज्ञ न्यौपाने बताए । कार्यक्रममा ५२ युनिट रगत संकलन भएको उनले बताए ।