कुलमानलाई सांसदले ‘श्री ३ महाराज’ भनेपछि…

काठमाडौँ, २१ साउन । प्रतिनिधि सभा बैठकमा जुम्लाका सांसद गजेन्द्रबहादुर महतले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उर्जामन्त्री वर्षमान पुनलाई श्री ३ महाराजको पगरी गुथाएका छन् ।

लामो समयदेखि जुम्लामा विद्युत् आपूर्ति नभएको भन्दै महतले घिसिङ र पुनमाथि आक्रोश पोखेका हुन् । ‘कर्णालीको एक जिल्ला सदरमुकाम जुम्ला अँध्यारो छ, २०३८ सालमा बनेको २०० किलोवाटको बिजुली बिग्रेर थन्केको छ,’ महतले भने, ‘श्री ३ महाराज कुलमान घिसिङ र अर्का श्री ३ महाराज वर्षमान पुनको फोन पनि उठ्दैन, भेटघाट पनि हुँदैन ।’

नेपालको बिजुली भारतमा बेच्छौं भनेर ठूला कुरा गरे पनि जुम्लामा बिजुली पुर्‍याउन नसकेको आरोप महतले लगाए । ‘हामीले यति गर्‍यौं, उति गर्‍यौं भनेर यिनीहरू कुर्लेका कुर्ल्यै छन्, इन्डियालाई बत्ती बेच्दै छु भन्छन्,’ महतले भने, ‘बत्ती कृपया जुम्लालाई बेचिदिनुस्, बत्ती कति छ हामीलाई बेचिदिनुस् ।’

महतले जहाँ कमिसन आउँछ त्यहीं सेवा विस्तार हुने भन्दै आक्रोश पोखे ।

 
 
  
 

You may also like