ज्योति गुरूङ र ज्योति भण्डारीविरूद्ध ‘रेड कर्नर नोटिस’ का लागि सिफारिस

by समतल अनलाइन

काठमाडौं । ललितपुरस्थित मितेरी सहकारीको करोडौं रकम अपचलन घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले दुई जनाविरूद्ध ‘रेड कर्नर नोटिस’ जारी गर्न सिफारिस गरेको छ ।

सीआइबीले महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिनाको अनुसन्धान गरिरहेको छ । सहकारीले पाँच जनाविरूद्ध जाहेरी दिएको छ । जसमध्ये ज्योति गुरूङ र ज्योतिबहादुर भण्डारीविरूद्ध रेड कर्नर नोटिस जारी गर्न सीआइबीले प्रहरी प्रधान कार्यालय नक्सालमा सिफारिस गरेको सीआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोल शाखाले यसबारे अध्ययन गरी रूजु गरी आवश्यक परे थप कागजात सीआइबीसँग झिकाउनेछ । कागजातहरू सबै पुगेमा रेड कर्नर नोटिस जारी गर्न शाखाले इन्टरपोलमा पत्राचार गर्नेछ । रेड कर्नर नोटिस सिफारिस भएकी ज्योति गुरूङ नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङकी पूर्व पत्नी हुन् ।

कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योति उक्त सहकारीको प्रबन्ध निर्देशक थिइन् । बर्दिया घर भएका ज्योति भण्डारीले पनि सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको भेटिएको छ । भण्डारी कम्बोडियामा लुकेको आशंका गरिएको छ । उनले रकम लगेर ऋण फिर्ता नगरेको सहकारीका सञ्चालकहरू बताउँछन् ।

सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ । धनराज गुरुङ र ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरेको भेटिएको छ ।

 
 
  
 

You may also like