म्याद सकिएको १६ महिना बित्यो तर विमानस्थल कालोपत्रे गर्ने काम सुरु भएन

by समतल अनलाइन

बैतडी । बैतडीको पाटन विमानस्थल कालोपत्रे गर्ने सम्झौताको म्याद सकिएको १६ महिना बिते पनि काम अझै सुरु भएको छैन । सम्झौतामा २०७५ असार मसान्तसम्म कालोपत्रे गरिसक्ने उल्लेख छ ।

ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले निर्माण ठेक्का लिएको विमानस्थलमा कालोपत्रे काम गर्न बाँकी छ । निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले निर्माण सामग्रीको अभावले तोकिएको समयमा काम पूरा हुन नसकेको बताए ।

कालोपत्रे गर्ने मेसिन जडान भइसकेकाले मंसिरभित्रै कालोपत्रे गरिसक्ने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ । विमानस्थलाई कालोपत्रे गर्ने कार्यअन्तर्गत बेस, सबबेस र ड्रेनलगायतको सबै काम सकिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

विमानस्थलको २०७३ चैतमा सम्झौता भई पुनर्निर्माणको काम सुरु भएको हो । विमानस्थलको ५९० मिटर लम्बाइ र २० मिटर चौडाइको रनवे कालोपत्रे गरिनेछ । ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ ।

यसका लागि मूल्य अभिवृद्धि कर बाहेक करिब ११ करोड २९ लाख रुपैयाँको काम भइरहेको छ । २०३२ सालमा काम सुरु भएर २०३५ सालदेखि विमानस्थल सञ्चालनमा आएको थियो ।

पहाडी जिल्लाहरुमा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै २०५२ सालदेखि विमानस्थल बन्द गरिएको थियो ।

 
 
  
 

You may also like