पारालिम्पिकमा पदक जितेकी पलेशालाई बाजागाजासहित नगर परिक्रमा गराइँदै

by समतल अनलाइन

काठमाडौं । पेरिस पारालिम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धन काठमाडौं आइपुगेकी छन् । फ्रान्सको राजधानी पेरिसमा भएको पारालिम्पिकको के–४४ वर्गअन्तर्गत महिला ५७ किलोमुनिको प्रतिस्पर्धामा पलेसाले नेपाललाई काँस्य पदक दिलाएकी थिइन् ।

ऐतिहासिक पदक विजेता पलोसासहित नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलगायतले भव्य स्वागत गरेका थिए । उनको सम्मानमा आज (बुधबार) बाजागाजासहित नगर परिक्रमा गराइँदैछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट र्‍याली गौशाला, नयाँबानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली हुँदै राखेप परिसर पुग्नेछ । पलेसासँगै पारा तेक्वान्दो खेलाडी भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ पनि स्वदेश फर्किएका छन् ।

पेरिस पारालिम्पिकअन्तर्गत रिपेचेजको कांस्य पदक भिडन्तमा पलेसाले सर्बियाकी मरिजा मिसेभलाई १५–८ ले पराजित गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी थिइन् । उनले रिपेचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभर्जनलाई २–१ ले हराएकी थिइन् । यो नेपाली खेलाडीले जितेको अहिलेसम्मकै ठूलो पदक हो ।

 
 
  
 

You may also like