कोटीहोममा आचार्य कृष्ण दमाइको प्रवचन : पशुपति चरणमा स्वर्गको महसुस भएको छ

काठमाडौँ । पशुपति परिसरमा आयोजित कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिएका छन् । संस्कृतमा आचार्य (स्नातकोत्तर) गरेका बैतडीका दमाइले आज प्रवचन दिएका हुन् । मानव सेवा फाउण्डेशनले पशुपतिमा कोटीहोम आयोजना गरेको हो ।

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले आचार्य कृष्णलाई व्यासपीठमा राखी अभिनन्दन गरेका थिए । प्रवचनका क्रममा आचार्य कृष्णले भने, ‘संस्कृत साहित्यलगायत अन्य कर्ममा मलाई समावेश गराउने आदरणीय गुरूहरूमा नमन गर्छु । मानिसले स्वर्ग जानुपर्छ भन्छन् तर मेरो लागि त राष्ट्रदेव पशुपतिनाथको चरणमा स्वर्गको महसुस भएको छ । मैले स्वर्ग प्राप्त गरेको अनुभूत गरेको छु ।’

उनले कोटीहोममा उपस्थित भएपछि सबै जाति र समुदायले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्छ भन्ने सोचमा थप बल पुगेको धारणा राखेका छन् । ‘दलित समुदायको एउटा व्यक्तिले संस्कृत शिक्षा, वेद अध्ययन गर्नुपर्ने रहेछ भन्ने सोचमा आजको यस ऐतिहासिक कोटीहोममा थप बल पुगेको छ । मलाई व्यासमा बसी यस्तो पवित्रस्थलमा पुग्छु र बोल्छु भन्ने कल्पना नै थिएन ।’

सनातन धर्म संस्कारको रक्षा र सभ्य नागरिक बनाउनका लागि संस्कृत अभियानमा जोडिनु पर्ने धारणा राख्दै आचार्य कृष्णले धार्मिक रूपमा विभाजित गर्ने प्रवृत्तिबारे समेत सचेत रहनुपर्नेमा जोड दिए । उनले अगाडि थपे, ‘हामीलाई विभाजित गरी सनातन धर्म संस्कारलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको छ । त्यसैले हिन्दूत्व र सनातन धर्मका लागि एकताबद्ध रहनुपर्छ । हिन्दू संस्कारलाई बचाउन र सभ्य नागरिक बनाउनु छ भने संस्कृत अभियानमा जुट्न जरूरी छ । सबैले आ–आफ्नो ठाउँबाट कम्मर कसेर उठ्नु पर्छ ।’

मानवसेवा फाउण्डेशनका संस्थापक तथा पशुपति कोटीहोम महायज्ञका सङ्कल्पकर्ता विजय कृष्णमूर्तिले नेपालमा नयाँ युगको सुरुआत भएको बताएका छन् । उनले भने, ‘दमाइ परिवारबाट आचार्य गर्नु भएका कृष्णलाई व्यासमा राखेर अभिनन्दन गरेका छौँ र हामीलाई गर्व लागिराखेको छ, उहाँले निकै गहकिलो प्रवचन दिनुभयो । यो छुवाछूतविरुद्धको ठूलो क्रान्ति हो । बोलीले मात्र होइन व्यवहारले नै सामाजिक विभेद् हटाउनु पर्छ । त्यसैले यो एउटा नयाँ युग र नयाँ क्रान्ति हो ।’

एक महिना अर्थात साउनभर चल्ने कोटिहोममा अहिलेसम्म २५ लाख बढी भक्तजनहरू सहभागी भएको बताइएको छ । दैनिक बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म कथा प्रवचनका साथै रुद्री पाठ, १८ पुराणपाठ, एक सय आठ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ पराण गर्ने गरिएको छ ।

 
 
  
 

You may also like