पहिरोले घर पुरिँदा बेपत्ता हजुरआमाको शव भेटियो, नातिनीको खोजी जारी

रोल्पा । रोल्पामा पहिरोले घरसँगै पुरिएकी ७० वर्षीया बसुना सुनारको शव फोला परेको छ । गए राति सुनछहरी गाउँपालिका–५ कामीडाँडामा देउसिंह कामीको घर पहिरोले पुरिँदा उनकी आमा बसुना र छोरी चार वर्षीया किमा सुनार बेपत्ता भएका थिए ।

खोजीका क्रममा आज (शनिबार) बिहान बसुना पुरिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी भरत लामाले जानकारी दिए । बसुनाकी नातिनी ४ वर्षीया किमाको अवस्था भने अझै अज्ञात छ । उनको खोजी जारी रहेको डिएसपी लामाले बताए । खोजी तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय पोवाङ र सुलिचौरबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डमा प्रहरीको टोली खटाइएको छ ।

शुक्रबार राति माथिबाट झरेको पहिरोले ढुँगा माटोबाट बनेको देउसिंहको एक तले कच्ची घर पुरेको थियो । घटनाबारे स्थानीयले प्रहरी चौकी सिउरीमा राति पौने १० बजेतिर जानकारी गराएका थिए । सूचना पाउना साथ प्रहरी निरीक्षक केशरबहादुर थापाको कमाण्डमा चार जना प्रहरी घटनास्थलमा खटाइएका थिए । शुक्रबार देउसिंह र उनकी श्रीमती भने घरमा थिएनन् । उनीहरू कामको शिलशिलामा बाहिर रहेका कारण जोगिएको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like