कीर्तिपुर र ललितपुरमा बाढी र डुबानमा फसेका ३९ जनाको उद्धार

काठमाडौं । कीर्तिपुर र ललितपुरका विभिन्न ठाउँमा बाढी र डुबानमा फसेका ३९ जनाको उद्धार गरिएको छ । कीर्तिपुरको सुन्दरीघाटबाट १५ जनाको उद्धार गरिएको छ ।

कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी क्षेत्रमा फसेका १५ जनाको उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । गए रातिदेखि परेको अविरल वर्षाका कारण विभिन्न क्षेत्र डुबानमा परेको छ । डुबानमा परेको खबरसँगै सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणबाट सशस्त्र प्रहरीको टोली खटिएको थियो ।

उक्त टोली बुधबार बिहान ५ बजेदेखि परिचालन भएको थियो । ट्युब र डोरीको सहायताले १५ जनाको उद्धार गरेको डिएसपी थापाले जानकारी दिए । यस्तै अविरल वर्षाका कारण ललितपुरका विभिन्न क्षेत्र डुबानमा परेको छ । ललितपुर प्रहरी परिसरका एसपी नरेशराज सुवेदीका अनुसार बाढीपहिरो र डुबानमा परेका क्षेत्रमा उद्धारका लागि बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरिएको थियो ।

उनकाअनुसार अहिलेसम्म २४ जनाको उद्धार भएको छ । ३ जना बालक, ८ जना महिला र १३ जना पुरूषको विभिन्न ठाउँबाट उद्धार गरिएको र अझैपनि उद्धारको काम भइरहेको एसपी सुवेदीले बताएका छन् । मनहरा खोलामा आएको बाढी ललितपुर महानगरपालिका–९ बालकुमारी च्यासलस्थित एमाले पार्टी कार्यालय र च्यासल फुटबल ग्राउण्डमा पसेको छ भने करिडोर क्षेत्र पनि डुबानमा परेको छ ।

ललितपुर महानगरपालिका–२ सानेपा, वडा नम्बर ९ शंखमुल, वडा १ कुपन्डोल, महालक्ष्मी नगरपालिका–७ चाँगाथली लगायतका क्षेत्रमा बाढी पसेको छ । अविरल वर्षाका कारण गएको पहिरोले बागमती गाउँपालिका–३ पाङ्दुरडोल र टार्कुचेमा पहिरो खस्दा कान्ती लोकमार्ग पुर्ण अवरूद्ध भएको छ। त्यस्तै महालक्ष्मी नगरपालिका–९ लाकुरीभञ्ज्याङको सिस्नेखर्कमा पहिरो जाँदा काभ्रे जाने बाटो अवरूद्ध भएको छ ।

गोदावरी नगरपालिका–१ दमाइटार सातथलीमा खड्कनन्द दाहालले सञ्चालन गरेको फार्ममा बाढी पस्दा ४ सय कुखुरा मरेका छन् । वर्षाकै कारण महालक्ष्मी नगरपालिका–८ लुभुको तल्लो चौतारास्थित पिपलको बोट ढलेका कारण सडक अवरूद्ध भएको छ । त्यहाँ पिपलको रूख डोजर लगाएर हटाउने काम भइरहेको एसपी सुवेदीले जानकारी दिए ।

 
 
  
 

You may also like