काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (सोमबार) पनि बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपंक्षी विकास सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।
सभामुख देवराज घिमिरेले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २८ को उपनियम (२) बमोजिमको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा रहने सदस्यहरूको नाम प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
सभामुख घिमिरेले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथी विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
सांसद डा. तोसिमा कार्कीले विपद् व्यवस्थापनमा पुनरवलोकन, बृहत गुरुयोजना निर्माण तथा स्वास्थ्य सङ्कट पूर्व तयारी सम्बन्धमा छलफल गर्न आवश्यक भएकोले भन्ने विषयको जरुरी सावर्जनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछिन् । प्रस्तावमा सांसदहरू सन्तोष परियार, विराजभक्त श्रेष्ठ, असिम साह, गणेश पराजुली, डा. चन्दा कार्की (भण्डारी), विन्दवासिनी कंसाकार र निशा डाँगीले समर्थन गर्नेछिन् ।