बागमती र गण्डकीमा विहानैदेखि बर्षा, यी प्रदेशमा ठूलो पानी पर्ने

पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा ठूलो वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज (बुधबार) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न अनुरोध गरेको छ ।

पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोकमा ठूलो वर्षा
काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा गए राति देखि वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको नवलपुरमा ७५ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै ढंगेमा ६१ मिलिमिटर वर्षा भएको छ । यसैगरी सुर्खेतको गोथीखण्डमा ७१ मिलिमिटर पानी परेको छ । पश्चिम नवरपरासीको देउराली, पर्वतको कार्कीनेटा, दैलेखको डाडागाउँ, गोर्खाको आरुघाट र बारपाक, लम्जुङको बेसीशहर लगायतका क्षेत्रमा पनि हल्कादेखि मध्यम पानी परेको छ ।

यसैबीच सिन्धुपाल्चोकको बाउनेपाटी, बोल्डे, नवलपुर र आसपासको क्षेत्रमा ठूलो वर्षा भएकाले यस क्षेत्र भइ बहने मेलम्ची र ईन्द्रावती नदीको जलसतह बढ्ने र अन्य स–साना खोलामा आकस्मिक बहाव भएर पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै महाकाली, कर्णाली र यसका प्रमुख सहायक नदीको जलसतह उल्लेख्य बढ्ने पुर्वानुमान छ ।

 
 
  
 

You may also like