आठबिसकोटमा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु, एक जना बेपत्ता

रुकुम पश्चिम । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् । सोमबार राति आएको बाढीले आठबिसकोट नगरपालिका–१२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो ।

घटनामा परी एक जना बेपत्ता भएको र सात जना घाइते भएको आठविसकोट नगरपालिका प्रमुख रबी केसीले जानकारी दिएका छन् । मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्की रहेको नगर प्रमुख केसीले बताए । घटनामा परेर डिल्लीबहादुर बुढाथोकी बेपत्ता भएका छन् ।

बाढीले घर बगाउँदा घाइते सात जनालाई आठविसकोटस्थित नगर अस्पतालमा ल्याएर उपचार सुरु भएको स्थानीय ललित चन्दले जानकारी दिए । घाइते हुनेहरूमा १२ वर्षीय बिनय सार्की, २२ वर्षीया मनीषा पुन, २९ वर्षीया जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामी रहेका छन् ।

आठबिसकोटस्थित गिजागार खोलामा आएको बाढीले घर बगाउँदा उक्त घटना भएको बताइएको छ । बाढीले अन्य स्थानका घर र घट्ट समेत बगाएको छ । घटनाको पूर्ण विवरण सङ्कलन हुँदै गरेको नगर प्रमुख केसीले बताएका छन् । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तसहित सुरक्षा निकाय, रेडक्रस लगायतको टोली परिचालन भएको छ । अहिले नेपाल प्रहरी, आठविसकोट नगर प्रहरी र स्थानीयले खोज, उद्धार र उपचारको कार्यलाई प्राथमिकता दिएका छन् ।

 
 
  
 

You may also like