प्रेस युनियन युरोपको अधिवेशन १४ जुलाईमा हुदै

महामन्त्री गगन थापाले सम्बोधन गर्ने

लिस्बन। नेपाल प्रेस युनियन युरोप शाखाको प्रथम अधिवेशन यही १४ जुलाईमा हुने भएको छ।

जुममार्फत हुने अधिवेशनको तयारी तीब्र रुपमा भइरहेको शाखाले जनाएको छ । अधिवेशनलाई काँग्रेस महामन्त्री एवं पूर्व मन्त्री गगन थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको शाखाका संयोजक सञ्जयभक्त कडेंलले जानकारी दिनुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं युनियनका पूर्व केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यस्तै युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल विशेष वक्ताका रुपमा सहभागी हुने शाखाले जनाएको छ । कार्यक्रममा युनियनका केन्द्रीय नेतृत्व तथा युरोपमा क्रियाशील काँग्रेस नेताहरूको समेत सहभागिता रहने संयोजक कडेंलेले बताउनुभयो ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्व महासचिव समेत रहेका कडेंलको संयोजकत्वमा तीन वर्ष अघि युनियनको युरोप शाखा गठन गरिएको थियो । शाखामा हाल युरोपका विभिन्न मुलुकमा क्रियाशील दुई दर्जन बढी लोकतन्त्रवादी पत्रकार आवद्ध छन् । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

कडेंलको सकृयतामा युनियनको युरोप शाखा र बेलायत शाखा स्थापना भएको थियोे । १४ जुलाई आइतबार हुने अधिवेशन नेपाली समय अनुसार अपरान्ह ५ः३० बजे र बेलायत र पोर्चुगलको समय अनुसार दिउँसो १२ः३० बजे हुने बताइएको छ ।

लोकतन्त्रवादी पत्रकारहरुको छाता संस्था प्रेस युनियन हाल वैदेशिक शाखाको रुपमा युरोप सहित पोर्चुगल, बेलायत र युएईमा सक्रिय छ । अन्य देशमा पनि शाखा विस्तारको तयारी भइरहेको युनियनले जनाएको छ ।

 
 
  
 

You may also like