प्रचण्डले विश्वासको मत लिँदै, आजै प्रधानमन्त्रीमा दाबी पेश गर्ने कांग्रेस–एमालेको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (शुक्रबार) संसदबाट पाँचौ पटक विश्वासको मत लिँदै छन् । प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रचण्डले पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएपछि एमालेले असार १९ गते समर्थन फिर्ताको निर्णय गरेको थियो । २०७९ पुस १० गते प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पाँचौं पटक विश्वासको मत लिन लागेका हुन् ।

सोही वर्षको पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका प्रचण्डले पछिल्लो पटक गत जेठ ७ गते विश्वासको मत लिएका थिए । सरकारलाई दिएको समर्थन फिर्तासँगै नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न एमाले र कांग्रेसले प्रचण्डसँग आग्रह गर्दै आएका थिए । तर, प्रचण्डले भने संसद् फेस गर्ने बताउँदै आएका छन् ।

प्रधानमन्त्री प्रचण्डको विपक्षमा मतदान गर्न बिहीवारसम्ममा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टीसहितका दलले ह्वीप जारी गरिसकेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । यस्तोमा कांग्रेस र एमालेले आज नै नयाँ प्रधानमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउन नसक्ने निश्चित रहेकाले शुक्रवारको संसद् बैठकलगत्तै राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी गर्ने तयारी दुई दलले गरेका हुन् ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूसँग ८० प्रतिशत सांसद रहेको भन्दै नै आजै प्रधानमन्त्रीमा दाबेदारी गर्ने जानकारी दिए । प्रधानमन्त्रीले विश्वासको मत नपाउने भएकोले लामो समय देशलाई सरकार विहीनताको अवस्थामा राख्न नहुने भन्दै लेखकले आजै राष्ट्रपति समक्ष सांसदको हस्ताक्षर बुझाउने बताए ।

दुई दलको सहमति संविधानको धारा ७६ को उपधारा २ अनुसार एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन् । तर माओवादीले भने संविधानको धारा ७६ को उपधारा ३ अनुसार नयाँ सरकार बन्ने जिकिर गर्दै आएको छ । यही विवादका बीच दुई दलले उपधारा २ अनुसार कै प्रधानमन्त्रीका लागि दाबी पेश गर्ने तयारी गरेका हुन् । कांग्रेस र एमालेले असार १७ गते मध्यराति नयाँ समीकरण बनाउने सहमति गरेका थिए । दुई दलबीचको सहमतिअनुसार पहिलो दुई वर्ष ओली प्रधानमन्त्री बन्नेछन् । त्यसपछिको डेढ वर्ष चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

 
 
  
 

You may also like