गाडी स्टार्टमै छाडेर चालक पहिरो हेर्न जाँदा रोल्पामा जीप दुर्घटना, मृत्तक सातै जनाको सनाखत

रोल्पा । रोल्पामा सोमबार बेलुकी भएको जीप दुर्घटनामा मृत्यु भएका सात जनाको सनाखत भएको छ । घर्तीगाउँबाट तालाबाङ तर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जीप साँझ ६ बजेतिर माडी गाउँपालिका–४ परेवा छहरा भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा सात जनाको मृत्यु भएको हो । जीप स्टार्टमै छाडेर चालक पहिरो हेर्न जाँदा भएको दुर्घटनामा रोल्पामा एउटै पालिकाका ६ सहित सात जनाको मृत्यु भएको हो  । द्युर्घटनामा आठ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा माडी गाउँपालिका–३ तालबाङकी ३३ वर्षाीया जुनमाया खड्का, ५० वर्षीया कर्मा घर्ती मगर, ७७ वर्षीय खड्गबहादुर डाँगी रहेका छन् । सोही वडाकी ३० वर्षीया अमृता घर्ती उनकी १८ महिनाकी छोरीको दुर्घटनामा मृत्यु भएको छ । त्यस्तै परिवर्तन गाउँपालिका–२ राङ्सीकी ३३ वर्षीया रामकली पुन र ७० वर्षीय झुपलाल डाँगीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई अन्यत्र अस्पताल रिफर गरिएको छ । घाइते खगेन्द्र बाँठाको रोल्पामै उपचार जारी छ । सामान्य चोटपटक लागेकी दिलकुमारी घर्ती मगर भने उपचारपछि घर फर्किएकी छिन् । उनी जीप दुर्घटना हुँदै गर्दा हाम फालेर जोगिन सफल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए । जीप दुर्घटनामा चालकसहित १५ जना घाइते भएका थिए ।

 
 
  
 

You may also like