मन्त्रीहरूलाई प्रधानमन्त्रीको ब्रिफिङ : यो सरकार लामै समय जान्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार फेरिन लागेको भन्दै बाहिर चलेको हल्लामा सत्यता नरहेको ब्रिफिङ मन्त्रीहरूलाई गरेका छन् । सिंहदरबारमा आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘यो सरकार लामै समय जाने’ भन्दै मन्त्रीहरूलाई आश्वस्त पारेका छन् । उनले सत्ता साझेदार दलमा कुनै किसिमको असमझदारी नरहेको समेत बताएका थिए । बैठकमा सहभागी एक मन्त्रीले प्रधानमन्त्रीको भनाइ भन्दै भने, ‘बाहिर चलेका हल्लामा कुनै सत्यता छैन । यो सरकार लामै समय जान्छ ।’

सरकारकी प्रवक्ता रेखा शर्माले पनि प्रधानमन्त्रीले बाहिर चर्चामा आएको विषयको ब्रिफिङ गरेको जानकारी दिइन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको बताउँदै बाहिर असमझदारी बढ्यो भनेर आएका कुरा असत्य रहेका र यो गठबन्धन लामै समय जाने जानकारी प्रधानमन्त्रीले गराएको बताइन् ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच तीन घण्टा लामो छलफल भएपछि सरकार फेरिन लागेको चर्चा चलिरहेको छ । ओली–देउवा भेटपछि प्रचण्डले लगातार दुई दिन ओलीलाई सिंहदरबारमै बोलाएर लामो छलफल गरेका छन् । त्यसपछि बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले सरकार फेरिन लागेको हल्ला सत्य नभएको ब्रिफिङ गरेका हुन् ।

 
 
  
 

You may also like