जेसीज अन्तरसंवादको निश्कर्ष : ‘बुटवललाई मुलुककै आधुनिक र उत्कृष्ट सहर बनाउन सकिन्छ’

बुटवल ।बुटवल जेसीजले बुटवलमा ‘वर्तमान अर्थतन्त्र : समृद्ध बुटवलको लागि सम्भावना र चुनौती’ विषयमा अन्तरसंवाद गरेको छ । अन्तरसंवादमा विषयविज्ञका रुपमा योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, पूर्व गभर्नर डा. चिरञ्जीवी नेपाल, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय र पूर्व सचिव भिम उपाध्याय सहभागि हुनु भएको थियो ।

जेसीज सप्ताह अन्तरगत आयोजना गरिएको उक्त अन्तरसंवादमा सहभागिहरुले बुटवल पूर्व–पश्चिम र उत्तर–दक्षिणको संगम मात्रै नभएर पश्चिम नेपालको पुरानो ऐतिहासिक व्यापारिक केन्द्र पनि भएकाले बुटवललाई आधुनिक र उत्कृष्ट सहरको रुपमा विकास गर्न सकिने धारणा राखेका थिए । त्यस्तै बुटवललाई नमुना प्रविधि सहरको रुपमा विकास गर्न सकिने र त्यसो गर्न सकियो भने सबै कुरालाई प्रविधिले गाईड गर्ने भएकाले सुशासनयुक्त सहरको रुपमा विकास गर्न सकिने भनाई राखेका थिए ।

प्यानल डिस्कसनमा योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले कुनै पनि ठाउँको विकास तथा व्यापारिक केन्द्रका लागि सामानको आयात निर्यात, मानिसहरुको आवतजावत र पुँजी चलायमान हुनु पर्ने बताउँदै यी सबै कुरामा बुटवलले राम्रो सम्भावना बोकेको बताउनु भयो । उहाँले त्यसको लागि बुटवल भन्दा बाहिर रहेर राम्रो गरिरहेकाहरुलाई आकर्षण गर्न सक्नुपर्ने बताउँदै समृद्ध बुटवलको लागि यसका आधारमा योजना बनाउन स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

त्यस्तै पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, बागलुङ, पर्वत सम्मका जिल्लाका मानिसले सम्भावना खोज्ने पहिलो गन्तव्य बुटवल भएको बताउँदै बुटवलले यसलाई गतिलोसंग क्यास गर्न सक्ने धारणा राख्नुभयो । उहाँले बुटवललाई प्रोसेसिङ हव बनाउन सकिने बताउँदै ती जिल्लामा उत्पादन भएका बस्तुहरुलाई बुटवल ल्याउने र प्रोसेसिङ गर्न सकियो भने त्यसको मुल्यलाई गुणात्मक रुपमा बृद्धि गरेर विक्रि वितरण गर्न सकिने भनाई राख्नुभयो ।

उहाँले आर्थिक सम्बन्धि नियममा भएको अस्थिर नीतिले उद्योगी व्यवसायीहरुलाई पनि अस्थिर बनाएको उल्लेख गर्नुभयो ।त्यस्तै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको समृद्धि र विकासका लागि लुम्बिनी सम्मलाई समेटेर महानगर र पूर्वको वर्दघाटदेखि पश्चिमको चन्द्रौटासम्मलाई समेटेर मेघासिटी बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

कस्मिरबाट कसौधनहरुलाई ल्याएर व्यापारको सुरुवात गरिएको पश्चिम नेपालको व्यापारिक केन्द्र बुटवलबाट प्रदेशको राजधानी गुम्नु यहाँको विकासको मुख्य बाधक भएको भनाई राख्नुभयो ।

उहाँले प्रदेश राजधानीसंगै बुटवलले दैनिक १ हजार ७ सय उपभोक्ता गुमाएको बताउँदै देश विदेशमा भएको आर्थिक मन्दीले बुटवललाई पनि नराम्रोसंग प्रभाव पारेको उल्लेख गर्नुभयो ।

उहाँले बुटवललाई चलायमान बनाउनको लागि घरभाडा पुनरावलोकन आवश्यक रहेको बताउनु भयो ।त्यस्तै पूर्वसचिव भिम उपाध्यायले नेपालमा उद्योग गर्दा ४६ वटा कर तिर्नुपर्ने बताउँदै जलस्रोतको धनी देश, कृषि प्रधान देशमा उद्योगीलाई केही पनि नभएको बताउनु भयो । उहाँले नेपालका ग्रामिण क्षेत्र गाँजा खेतीमा राम्रो सम्भावना भएको बताउँदै गाँजा निर्यात गरेर देशलाई समृद्ध बनाउन सकिने भनाई राख्नुभयो ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले कुनै बेला यातायातको हवको रुपमा त कुनै बेला व्यापारको हवको रुपमा चिनिएको बुटवललाई अब पन पुरानै परम्परागत रुपमा अगाडि बढाउने या नयाँ कुरालाई एक्सपोज गर्ने भन्ने कुरा बहसको विषय बन्नुपर्ने बताउनु भयो । उहाँले विशेष गरेर उत्पादित कृषिजन्य बस्तु, जडिबुटीहरुको संकलन र प्रोसेसिङ गर्न सकियो भने त्यसबाट अर्थपूर्ण रुपमा आर्थिक विकास गर्न सकिने बताउँदै शिक्षा र स्वास्थ्यमा पनि उत्तिकै सम्भावना रहेको बताउनु भयो ।butwal jesisi.jpeg

बुटवल जेसीजका अध्यक्ष विनोद घिमिरेले तिनाउको शिरबाट सुरु भएको बुटवल उपमहानगरपालिका नदि सभ्यातामा आधारित सहर भएको बताउँदै ऐतिहासिक बुटवलको विकास र यहाँका नागरिकको संमृद्धिको खोजी गर्न कार्यक्रम आयोजना गरिएको बताउनु भयो । प्यानल डिस्कसनमा पत्रकार कपिल ज्ञवालीले सहजिकरण गर्नुभएको थियो ।

 
 
  
 

You may also like