धनगढीमा २९ वर्षयताकै प्रचण्ड गर्मी, काठमाडौंको तापक्रम ३३ डिग्री पुग्यो

मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने, तापक्रम अझै बढ्न सक्ने

धनगढी । पछिल्लो केहि दिनयता देशभर गर्मी बढेको छ । गर्मी र तातो हावाका कारण तराईको जनजीवन बढी प्रभावित भएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा २९ वर्षयताकै सबैभन्दा बढी गर्मी भएको छ ।

सन् १९९५ को जून महिनापछि बिहीबार दिउँसो बढी तापक्रम मापन भएको हो । मंगलबारबाट उकालो लागेको तापक्रम बिहीबारसम्म बढिरहेको छ । मंगलबार ४२ डिग्री सेल्सियस तापक्रम मापन भएकोमा बुधबार ४३.३६ डिग्री र बिहीबार (आज) ४४ दशमलव १ डिग्री मापन भएको हो ।

मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले सन् १९९५ पछि बिहीबार बढी तापक्रम मापन भएको दिन भएको जानकारी दिएका छन् । सन् १९९५ जुनमा धनगढीको तापक्रम ४६ दशमलव ४ मापन भएको थियो । जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले धनगढीमा बुधबार २९ वर्षपछि उच्च तापक्रम मापन भएको जानकारी दिए ।

गत वर्ष धनगढीको उच्च तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड भएको थियो । गर्मी बढेका कारण धनगढी उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले जेठ १८ देखि २४ गतेसम्म विद्यालय बन्द गर्ने जनाएको छ । उपमहानगरपालिकाले जारी गरेको सूचनामा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिनका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो
नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कोशी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । काठमाडौँ उपत्यकाको आजको तापक्रम पुनः बढेर ३३ डिग्री सेल्सियस पुगेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । विगत केही दिनयतादेखि यहाँको तापक्रम बढ्दै गइरहेको उनले बताए ।

मौसमविद् मानन्धरले उनले भनिन्, ‘नेपालमा अहिलेसम्म मनसुन भित्रिएको छैन, भारतमा आज मात्रै भित्रिएको छ । मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्नसक्छ ।’ आज यहाँको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसबीच रहने विभागले पूर्वानुमान गरेको थियो । अहिले दिपायलमा ३६ दशमलव ६ डिग्री, धनगढीमा ४१ डिग्री, साडेपानीमा ४२ दशमलव ५, नेपालगञ्जमा ४१ दशमलव २ र भैरहवामा ३८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ ।

 
 
  
 

You may also like