अर्थमन्त्री पुनले ल्याए हालसम्मकै ठूलो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट

काठमाडौँ । सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका हुन् । यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा २१.५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो ।

यो खर्च अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा ६.२ प्रतिशतले बढी, संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशतले बढी भएको उनले बताए । निवर्तमान अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएका थिए । तर बजेको अर्धवार्षिक समीक्षामार्फत १५ खर्ब ३० अर्ब २६ करोड खर्च हुने संशोधित अनुमान छ ।

कुल विनियोजनमा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ अर्ब २७ करोड विनियोजन रहेको छ । खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड व्यहोर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड अपुग हुने उनले बताए। सो अपुग बजेट पूर्तिका लागि वैदेशिक ऋणबाट २ अर्ब १७ अर्ब ६७ करोड जुटाउने, राजस्वको परिचालन र वैदेशिक सहायता परिचालन गर्दा नपुग हुने खुद ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट बेहोरिने छ ।

 
 
  
 

You may also like