काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । जेठ ३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको नाममा अचल सम्पत्ति नभएको खुलेको छ । उनले काभ्रेमा ९ लाख ९५ हजारमा ८–६–३० क्षेत्रफलको जग्गा किनेको देखिएको छ । उनले उक्त जग्गा संयुक्त नाममा रहेको र आफ्नो पारिश्रमिकबाट किनेको उल्लेख गरेकी छन् ।
चल सम्पत्तितर्फ ११ तोला सुन रहेको उल्लेख गरेकी छन् । उनले २०७५ असार ८ गते विवाह हुँदा १० तोला सुन उपहार पाएको उल्लेख गरेकी छन् । त्यस्तै आफ्नी हजुरआमाको मृत्युपछि १ तोला सुन पाएको उनले विवरणमा लेखेकी छन् । १०० तोला चाँदी विवाहमा उपहार पाएको पनि उल्लेख छ । उनीसँग हिराको सेट र हिराको टप पनि छ ।
सुमनाको एनआइसी एसियामा रहेको बैंक खातामा एक करोड १५ लाख रुपैयाँ रहेको जनाएकी छन् । त्यसको स्रोत पारिश्रमिक भएको जनाएकी छन् । त्यस्तै एभरेष्ट बैंकमा पनि ३७ लाख रुपैयाँ छ । उनका श्रीमान पावल लुकास स्काविन्सकीले बैंकमा १८९.७ हजार डलर रहेको उल्लेख छ । श्रेष्ठको विभिन्न कम्पनीमा शेयर पनि रहेको विवरणमा उल्लेख गरेकी छन् ।