कतारका राजाको भ्रमण : सरकारले दियो भोलि सार्वजनिक बिदा

काठमाडौं । सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भोलि कतारका राजा नेपालको राजकीय भ्रमणमा आउने भएकाले सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराइन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि भोलि काठमाडौं आउँदैछन् । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै उनले मंगलबार र बुधबार नेपालको भ्रमण गर्न लागेको औपचारिक जानकारी दिएको हो । कतारबाट हुन लागेको यो नै अहिलेसम्मको उच्च भ्रमण हो । कतारबाट यस अघि मन्त्रीहरुले भ्रमण गरेपनि अमिर (राजा) वा प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका थिएनन् ।

कतारका अमिर नेपालसहित तीन एसियाली मुलुकको भ्रमणमा आइतबार निस्किसकेका छन् । दोहाबाट फिलिपिन्स उठेका उनी बंगलादेश हुँदै नेपाल आइपुग्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने छन् भने प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधबार द्विपक्षीय वार्ता गर्ने छन् । त्यसक्रममा दुई देशका बीचमा केही सम्झौता र समझदारीहरुमा समेत हस्ताक्षर हुने कार्यक्रम रहेको छ । अमिर बुधबार बेलुकी कतार फर्कने छन् ।

 
 
  
 

You may also like