बुटवलको एक होटलमा रडले हानेर बाबूले गरे छोरीको हत्या

बुटवल । बुटवलको एक होटलमा बुधबार साँझ एक युवतीको हत्या भएको छ । बुटवलस्थित मालिका होटलमा १७ वर्षीया अन्जली जि.सी.लाई उनकै बाबू ४८ वर्षीय नारायणबहादुरले हत्या गरेका हुन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार रुपन्देही कञ्चन गाउँपालिका-५ बर्गदवा बस्ने नारायणले रातको करिब ९ बजे होटलमा बस्दैगर्दा रडले हानेर छोरीको हत्या गरेका थिए । घटनापछि उनलाई विहिबार दिउँसो कञ्चन ४, थकालीचोकबाट प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ । अञ्जली हरैया माध्यमिक बिद्यालयको कक्षा ११ मा अध्यनरत थिईन ।

बाबू नारायणको प्रारम्भिक बयान अनुसार अञ्जली बुधबार दिउँसो साथीलाई भेट्न भनि घरबाट हिँडेकी थिइन् । छोरीलाई खोज्दै बुटवल आइपुगेका उनले घर जान आग्रह गर्दा नमानेपछि रिसको झोकमा रड प्रहार गर्दा मृत्यु हुन गएको बयान दिएका छन् । घटना बारे थप अनुसन्धान र बयान लिने काम भने अझै बाँकी रहेको प्रहरी नायव उपरीक्षक पण्डितले बताए ।

 
 
  
 

You may also like