बुटवलमा अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिता हुँदै

बुटवलमा अन्तर्राष्ट्रिय स्तरको बुद्धिचाल प्रतियोगिताको तयारी गरिएको छ । बुटवल उपमहानगरपालिका बुद्धिचाल संघले यहि चैतको २४ देखि २७ गतेसम्म कर्णेण उजिरसिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता गर्न लागेको हो ।

संघले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको बारेमा जानकारी गराएको हो । चार दिनसम्म चल्ने प्रतियोगितामा सहभागि हुनको लागि नेपाल सहित भारत, वंगलादेश, श्रीलंका, अमेरिकाबाट समेत गरी अहिलेसम्म ११७ जनाले नाम दर्ता गराईसकेका छन् । यो प्रतियोगितामा ४ सय जनासम्मलाई सहभागि गराउन सकिने बुटवल उपमहानगरपालिका बुद्धिचाल संघका अध्यक्ष सुधिर पुनले बताउनु भयो ।

प्रतियोगितामा सहभागि हुनको लागि रुपन्देही जिल्लाका खेलाडिलाई ३ हजार रुपैंया दर्ता शुल्क निर्धारण गरिएको छ । त्यस्तै रुपन्देहीका विद्यार्थीलाई २ हजार रुपैंया, रुपन्देही बाहेककालाई ७ हजार रुपैंया र नेपाल बाहिरका खेलाडिलाई १० हजार रुपैंया दर्ता शुल्क निर्धारण गरिएको प्रतियोगिताका संयोजक तथा नेपाल बुद्धिचाल संघका सल्लाहकार माधवप्रसाद प्रधानले जानकारी गराउनु भयो ।

नेपालमै अहिलेसम्मकै अत्यधिक राशी पुरस्कार रहेको यो प्रतियोगितामा क्याटागोरी अनुसार ५१ जना सहित ७१ जनालाई पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा प्रथम हुनेलाई २ लाख रुपैंया नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै द्वितीय हुनेलाई १ लाख १० हजार रुपैंया, तृतीय हुनेलाई ६० हजार चौथो हुनेलाई ४० हजार, पाँचौं हुनेलाई ३० हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तैगरी छैठौंदेखि दशौंसम्म आउनेलाई २० हजार, एघारौंदेखि १५ औंसम्म आउनेलाई १५ हजार र १६ औं देखि २० औं स्थानसम्म आउनेलाई १३ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचारप्रसार संयोजक हरिष ढकालले जानकारी गराउनु भयो ।

त्यस्तैगरी विधागत रुपमा २० वटा विधामा खेल खेलाईने छ । विधागत रुपमा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिने उहाँले जानकारी दिनुभयो । विधागत रुपमा २० जनालाई ५१ हजार देखि १० हजार रुपैंया सम्म पुरस्कार प्रदान गरिने छ । यो प्रतियोगितामा कुल १० लाख १ हजार रुपैंया पुरस्कार वितरण गरिने छ ।

प्रतियोगिता सम्पन्न गर्नको लागि करिव ४६ लाख रुपैंया लाग्ने अनुमान गरिएको छ । जसको लागि बुटवल उपमहानगरपालिकाले १५ लाख रुपैंया प्रदान गरेको छ भने १५ लाख रुपैंया खेलाडि दर्ताबाट संकलन हुने र बाँकी रकम प्रयोजक तथा सहयोग संकलन गरि प्रतियोगिता सम्पन्न गरिने अध्यक्ष पुनले बताउनु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाले बुटवललाई खेलकुदको हवको रुपमा विकास गर्न खेलकुदका क्षेत्रमा नगरपालिकाले उल्लेखनीय लगानी गरेको बताउनु भयो । उहाँले यो प्रतियोगिताले खेलाडि उत्पादनसंगै खेल पर्यटनमा पनि योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 
 
  
 

You may also like