महराको रिहाइबारे गृहमन्त्री लामिछानेको स्पष्टीकरण : राज्यको पनि करूणा हुन्छ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा बिरामी भएका कारण हाजिरी जमानीमा छाडिएको प्रष्ट पारेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले महरालाई छाडिएको विषयलाई अतिरञ्जित गर्न नहुने बताएका छन् ।

महरा सुन तस्करी प्रकरणमा भैरहवाबाट पक्राउ परेका थिए । महराले दैनिक ८–१० वटा औषधि सेवन गरिरहेको बताउँदै गृहमन्त्री लामिछानेले भने, ‘अदालतले पनि बिरामी हुनु भएको बताएको छ । राज्य निर्मम हुन सक्छ तर करुणा भएन भने त्यो अन्याय हुन जान्छ ।’

अवस्था हेरेर मानवीय संवेदना र करुणाको प्रयोग हुनुपर्ने उनले बताए । सुन तस्करी प्रकरणमा दोषी जोसुकै भए पनि नछाड्ने उनले दाबी गरेका छन् । महरालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआईबीले अनुमति मागेकामा जिल्ला अदालत काठमाडौंले चार दिन मात्र समय दिएको थियो । त्यो पनि उनको स्वास्थ्य अवस्था कमजोर भएकाले अस्पतालमा बस्न दिन भनेको थियो । अदालतले दिएको चार दिनको समय सकिएपछि महरा शुक्रबार हाजिरी जमानीमा छुटेका छन् ।

 
 
  
 

You may also like