प्रधानमन्त्रीले आज संसदमा विश्वासको मत लिंदै, यस्तो छ अंक गणित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (बुधबार) संसदमा विश्वासको मत लिंदैछन् । विहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने संघीय संसद सचिवालयले जनाएको छ ।

सत्ता फेरबदलसँगै प्रधानमन्त्री प्रचण्डले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । गत वर्ष पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि उनले पुस २६ मा पहिलो पटक विश्वासको मत लिएका थिए । त्यतिखेर उनलाई २७५ मध्ये २६८ सांसदको समर्थन प्राप्त भएको थियो । त्यसपछि गत वर्षको चैत ६ मा दोस्रो पटक विश्वासको मत लिँदा भने उनले १७२ मत प्राप्त गरेका थिए । तेस्रो पटक लिँदा भने यो संख्या थप घट्ने अनुमान गरिएको छ ।

यद्यपि विश्वासको मत प्राप्त गर्न १३८ सांसदको समर्थन चाहिन्छ । त्यो संख्या सत्ता घटक ५ दलमा पर्याप्त छ । एमालेबाट ७७, माओवादी केन्द्रका ३२, रास्वाका २१, जनता समाजवादीका १२ र एकीकृत समाजवादीका १० सांसद छन् । त्यस्तै चार सिट भएको नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिन ह्विप जारी गरेको छ ।

अहिलेसम्म प्रधानमन्त्रीलाई १५६ सांसदको समर्थन जुट्ने देखिएको छ । संसद्मा अहिले कांग्रेसको ८८, राप्रपाको १४, जनमतको ६, र लोसपाको चार गर्दा ११२ मत गठबन्धन बाहिर छ । जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका दुई र स्वतन्त्र सांसद पनि हालसम्म विपक्षमा हुने देखिएको छ ।

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिन लागेका हुन् । गत फागुन २१ मा नेपाली कांग्रेससँगको सहकार्य तोडेर नयाँ गठबन्धन बनाएका प्रचण्डले विश्वासको मत लिने संवैधानिक समयसीमा भन्दा तीन साताअघि नै सदनमा मत लिन लागेका हुन् ।

 
 
  
 

You may also like