माओवादीले आज राष्ट्रियसभा अध्यक्षको उम्मेदवार टुङ्गो लगाउँदै, कसको सम्भावना बढी ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार आज (आइतबार) टुङ्गो लगाउने भएको छ । आज साँझ ५ बजे बालुवाटारमा बस्ने पदाधिकारी बैठकले उम्मेदवारको टुङ्गो लगाउने सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन् । नयाँ सत्ता समीकरण बनेपछि माओवादीले राष्ट्रियसभाको अध्यक्ष र एमालेले उपाध्यक्ष पाउने सहमति बनेको छ । राष्ट्रियसभामा माओवादी सबैभन्दा ठूलो दल हो ।

अध्यक्षको उम्मेदवारमा माओवादीबाट हालकी उपाध्यक्ष उर्मिला अर्याल तथा सदस्यहरु झक्कुप्रसाद सुवेदी र नारायण दाहालको दावी छ । महिला भएको र हाल उपाध्यक्ष रहेका कारण अर्याललाई अध्यक्ष बनाउनु पर्ने पार्टीमा धेरै नेताको जोड रहेको सचिव गणेश साहले बताए ।

यस्तै सुवेदीको ६ वर्षे कार्यकाल रहने भएकोले बलियो दावेदार रुपमा रहेको साहले जानकारी दिए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भाइ भएको कारण नारायाण दहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने चर्चा रहे पनि पदाधिकारीले छलफल गरेर टुंग्याउने साहको भनाइ छ ।

हालै निर्वाचित भएर आएका सुवेदीलाई पठाउँदा ६ वर्ष अध्यक्ष आफ्नो हुने भएकाले उनैको सम्भावना बढी रहेको माओवादीका एक नेता बताउँछन् । ती नेताले भन्छन्, ‘उर्मिलाजीले पनि दाबी त गरिराख्नु भएको छ । तर, अब ६ वर्षसम्म हुने भएकाले झक्कुजीको हुनसक्छ । नत्र ४ वर्ष मात्रै हेर्ने हो भने नारायणजीको पनि सम्भावना छ ।’ राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ गते हुँदैछ ।

 
 
  
 

You may also like