एक्स्ट्राटेकको उद्घाटनमा लिजेन्ड कप,सम्पूर्ण तयारी पुरा

तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप प्रतियोगिताको लागि सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता फागुन २८ गते निजी क्षेत्रबाट निर्माण गरिएको एक्स्ट्राटेक ओभल मैदानमा हुनेछ । तिलोत्तमा नगरपालि-१७ स्थित पूर्व दरखसवामा अवस्थित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन स्वरुप यो प्रतियोगिता आयोजना हुन लागेको हो ।

टी १० संरचनामा हुने एकदिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चार टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा निभिया जर्सी पार्टनर र एयरलायन्स पार्टनरको रुपमा यती एयरलायन्स रहेको छ ।

जेठ २९ गते शिलान्यास भएको यो मैदान पिच निर्माणका साथै मैदान हरियो भएपछि तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप आयोजना गर्न लागिएको आयोजक एक्स्ट्राटेक प्रालिले जनाएको छ । प्रत्येक वर्ष ५ हजार दर्शक क्षमताको प्यारापिट गरी अगामी ३ वर्षभित्र यसको निर्माण कार्य सकाउने लक्ष्य राखिएको छ । २५ हजार दर्शक क्षमताको प्यारापिटसहितको रंगशाला बन्ने छ ।

एक्स्ट्राटेक ओभल प्रालि निर्देशक विनोद कुँवरले रंगशाला बनाउने घोषणा गर्दा आफू शंकैशंकाले घेरिए पनि १ वर्ष नपुग्दै खेल्न योग्य मैदान बनाएर केही जबाफ दिन सकिएको जनाए । एक्स्ट्राटेक ओभल मैदान निर्माणसँगै आफूहरू अब रुपन्देही जिल्ला क्रिकेट संघ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको सपना देख्न लागेको यसका अध्यक्ष हरि थापाले जनाए । उनले आइतबारबाट सुरु हुने रुपन्देही जिल्ला लिगका केही खेलहरु पनि यस मैदानमा गर्न सकिने जनाए ।

नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको थियो । यो टोलीका १४ मध्येका १२ खेलाडीले लिजेन्ड्स ९६ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्ने छन् । नेपालको पहिलो अन्तर्राष्ट्रिय आधिकारिक कप्तान उत्तमकुमार कर्माचार्य विदेशमा रहेकाले उनी लिजेन्ड्स ९६ टोलीमा हुने छैनन भने विकेटकिपर गणेश शाहीको निधन भइसकेको छ ।

नेपालले २०१४ मा बंगलादेशमा पहिलो पटक ट्वान्टी २० विश्वकप खेलेको थियो । यही टोलीका ६ खेलाडी विश्वकप २०१४ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्ने छन् । पारस खड्काको कप्तानीमा रहेको विश्वकप २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जितेन्द्र मुखिया र अविनाश कर्ण रहेका छन् । २०१४ मा विश्वकप खेलेको नेपाली टोलीका ८ खेलाडी अहिले विदेशमा छन् । सोमपाल कामी र विनोद भण्डारी नेपाली राष्ट्रिय टोलीसँगै हङकङमा छन् ।

 
 
  
 

You may also like