बुटवलमा ट्राफिक व्यवस्थापनको लागि पार्किङ स्थल तोकियो

बुटवलमा ट्राफिक व्यवस्थापनको लागि सवारी पार्किङ गर्ने स्थान तोकिएको छ । बुटवलको ट्राफिक व्यवस्थापन कार्यदलको सोमबार बसेको बैठकले पहिलो चरणमा बुटवलको मुख्य बजार क्षेत्र वडा नं. ४, ५ र ६ मा पर्ने अमरपथ, राममन्दिर लाईन, संगमपथ, विपि चोक तथा अस्पताल लाईन (हाईवे बाहेक), श्रवणपथ, ज्योती पथ, मैत्री पथ लगायतमा दुई पाङ्ग्रे सवारी साधन मात्रै साप्ताहिक रुपमा एकतर्फी पार्किङ गर्ने निर्णय गरेको हो ।

त्यस्तै चारपाङ्ग्रे सवारी साधनका हकमा आफ्नो पायक पर्नेगरी लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गा (जहाँ पार्किङ स्थल बनाईएको छ), बालमन्दिर, प्रदेश प्रमुखको कार्यालयको छेउमा रहेको खाली जग्गा र श्रवणपथ स्थित प्रहरी चौकीको पछाडीको खाली जग्गामा पार्किङको व्यवस्था मिलाईएको ट्राफिक व्यवस्थापन कार्यदलका सदस्य सचिव तथा बुटवल उद्योग वाणिज्य संघमा महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।
ट्राफिक व्यवस्थापन कार्यदलका संयोजक बुटवल उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष हरिप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले ट्राफिक व्यवस्थापनको काममा खटिने ट्राफिक प्रहरीलाई आवश्यक पर्ने चेन, ह्वील लक, नो पार्किङ बोर्ड लगायतका सामाग्रि बुटवल उपमहानगरपालिकाले उपलब्ध गराउने र निर्णयको प्रचारप्रसाद व्यवसायिक संस्थाहरुले गर्ने पनि निर्णय भएको सदस्य सचिव अधिकारीले जानकारी गराउनु भयो ।

पार्किङ व्यवस्थापनमा समस्या भएका कारण बुटवलको बजार खस्किन थालेपछि बुटवल उद्योग वाणिज्य संघको पहलमा ट्राफिक व्यवस्थापन कार्यदल गठन गरिएको थियो । यो कार्यदलको संयोजकमा बुटवल उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हरिप्रसाद श्रेष्ठ संयोजक र बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे सहसंयोजक रहनु भएको छ भने बाँकी दुईवटै वडाका अध्यक्षहरु, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यलय लुम्बिनी प्रदेश, इलाका प्रहरी कार्यालय बुटवल सहित यस क्षेत्रमा रहेका व्यवसायिक संघसंस्थाहरु रुपन्देही उद्योग संघ, रुपन्देही व्यापार संघ, उद्योग व्यापार संघ यसका सदस्य रहेका छन् ।

 
 
  
 

You may also like