नारी दिवसको अवसरमा विश्व पावर लिफ्टिङको आयोजना हुने

काठमाडौं । काठमाडौँ व्यायाम व्यवसायी संघद्वारा नारी दिवसको अवसर पारेर विश्व पावर लिफ्टिङको आयोजना हुने भएको छ।

स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नारा लाई साकार पार्दै स्वस्थ शरीरभित्र स्वस्थ मस्तिष्क हुन्छ भन्ने उद्देश्यका साथ विश्व पावर लिफ्टिङ यान.वाइ.याफ.सी नेपाल र काठमाण्डौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राबिधिक सहयोगमा भव्य रूपमा आयोजना गर्न लागेको राष्ट्रव्यापी प्रथम महिला स्क्वाट च्याम्पियनसिप २०८० को अन्तिम तयारी पुरा भएको छ ।

काठमाडौँ व्यायाम व्यवसायी सङ्घले यही २०८० फागुन २५ गते शुक्रबार नारी दिवसका दिन कमलपोखरी काठमाडौँ स्थित सिटी सेन्टर मलमा आयोजना गर्न लागेको प्रथम महिला स्क्वाट कम्पिटिसन २०८० को सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिएको छ । यस प्रतियोगितामा जम्मा तीनवटा वजन समूह अन्तर्गत प्रतियोगिता गराइनेछ ।

जसमा ५७ केजी भन्दा मुनि ५७.१ देखि ६५ केजी सम्म र ६५ केजी भन्दा माथि गरी जम्मा तीन वजन समूह रहन आयोजकले जानकारी दिनुभयो । यस प्रतियोगितामा नेपालभरिका विभिन्न जिम क्लब तथा संघ संस्थाहरूबाट करिब १०० जना खेलाडीहरुले सहभागिता जनाउने अनुमान गरिएको छ । प्रतियोगिता शुक्रबार बिहान ११ बजेबाट सुरु हुनेछ ।

सम्पूर्ण खेलाडीहरू आफ्नो शारीरिक तौल लिनको लागि प्रतियोगिता सुरु हुनुभन्दा २ घण्टा अगाडि प्रतियोगिता स्थल सिटी सेन्टर मल कमल पोखरीमा उपस्थित हुनुपर्नेछ ।

खेलको प्रतिस्पर्धाबाट प्रत्येक वजन समूहका खेलाडीहरूमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई नगदसहित क्रमश स्वर्ण, रजत तथा काश्य पदक एवं प्रमाणपत्रले सम्मानित गरिनेछ ।प्रत्येक वजन समूहमा प्रथम द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमश रु२०,१००, १०,१०० र ५,१०० नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रत्येक वजन समूहका प्रथम हुने खेलाडीहरूलाई ट्रफिका साथै तीनवटै वजन समूहका क्रमश प्रथम, द्वितीय तथा तृतीय हुने खेलाडीहरूलाई विभिन्न प्रायोजक संस्थाहरूबाट प्राप्त गिफ्ट ह्याम्परहरु पनि प्रदान गरिनेछ ।

यस प्रतियोगितामा महिलाहरुको सम्मान स्वरुप खेलाडीहरूबाट कुनै पनि शुल्क नलिएको जानकारी पनि आयोजकले गराएको छ । त्यस्तै, प्रतियोगिताको अनुमानित बजेट ५ लाख ७५ हजारको हुनेछ ।

 
 
  
 

You may also like