तीन प्रदेशमा बर्षाको सम्भावना, पश्चिमी न्यूनचापीय प्रणाली अझै केहि दिन रहने

by समतल अनलाइन

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशको पहाडी भू–भागका थोरै स्थानमा साथै मधेस र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकामा आज (शनिबार) बिहान पनि चिसो छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार वर्षा भएयता काठमाडौँ उपत्यकाको तापक्रम ह्वात्तै घटेको हो । आज बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस देखिएको उनले जानकारी दिए । ‘हिजो (शुक्रबार) भन्दा त उपत्यकाको न्यूनतम तापक्रम थोरै बढेको हो, तर ४.४ डिग्री सेल्सियस चिसै हुने अवस्था हो’, मौसमविद् झाले भने, ‘गत बिहीबार वर्षा हुनु पहिले ९ डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अहिले यति तल झरेको हो ।’

शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस थियो । आज १.१ डिग्री सेल्सियस बढेर ४.४ डिग्री सेल्सियसमा उक्लिएको हो । ‘मौसम बदली र वर्षा भएन भने फेरि बिस्तारै तापक्रम उकालो लाग्छ’, मौसमविद् झाले भने ।
आज उपत्यकाको अधिकतम तापक्रमचाहिँ १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको उनले बताएका छन् । अहिले बिहान काठमाडौँ उपत्यकामा हल्का हुस्सु लागिरहेको भए पनि मुख्यतया मौसम सफा छ ।

 
 
  
 

You may also like