साई ग्लोबल कपः इडेन र प्यारामाउण्ट विजयी

by समतल अनलाइन

भैरहवा ।इडेन इङ्गलिस बोर्डिङ हाई स्कूल र प्यारामाउण्ट इङ्गलिस बोर्डिङ हाई स्कूलले भैरहवामा जारी जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’मा शुक्रबारको खेलमा जित निकालेका छन् । इडेनले साई ग्लोबल ‘ए’ लाई ९ विकेट र प्यारामाउण्टले वेष्टर्न मेगा कलेजलाई ९ विकेटले पराजित गर्दै जित हासिल गरेका हुन् ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको साई ग्लोबल ‘ए’ले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १ सय २३ रनको योगफल बनायो । उसका लागि राहुल थापाले अविजित ६३ रनको अर्धशतकीय पारी खेले । यस्तै, राजपुतले १७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा इडेनका संदीप सुनारले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट लिए भने विनय जिसीले १ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको इडेनले १८ ओभर १ बलमा १ विकेट गुमाउँदै १ सय २५ बनाई सहजै जित निकाल्यो । उसको जितमा खडक बोहराले नटआउट ६७ रनको अर्धशतकीय पारी खेले । यस्तै, विशाल भुसालले अविजित ४४ रनको योगदान दिए । बलिङमा साई ग्लोबल ‘ए’ का राहुल थापाले १ विकेट लिए । खेलमा इडेनका संदीप सुनार म्यान अफ द म्याच हुन सफल भए ।

दोस्रो खेलमा टस जितेर ब्याटिङमा आएको वेष्टर्नले पुरै ओभर खेल्दै सबै विकेट गुमाएर ५९ रनमा झिनो योगफल बनायो । उसलाई सस्तैमा रोक्न बलिङमा प्यारामाउण्टका शिव कुँवरले ४, सन्देश थापाले ३ तथा ड्रस सुनार र समुन्द्र गौतमले समान १–१ विकेट लिए । वेष्टर्नका आनन्द गौतमले १३ रन बनाए पनि अन्य कुनै पनि ब्याटरले दोहोरो रन जोड्न नसक्दा टीम सस्तैमा समेटियो ।

प्रतिउत्तरमा झिनो लक्ष्य पछ्याएको प्यारामाउण्ट ४ ओभर ३ बलमा १ विकेटको क्षतिमा ६० रन बनाउँदै जित निकाल्न सफल भयो । उसका लागि सन्देश थापा र ड्रस सुनारले अविजित क्रमशः ३३ र १७ रनको योगदान दिए । बलिङमा वेष्टर्नका शिशिर एमसीले १ विकेट लिए । खेलमा प्यारामाउण्टका सन्देश थापा म्यान अफ द म्याच घोषित भए ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल एकेडेमीले प्रमुख प्रायोजनमा जारी प्रतियोगिताका विजेता टिमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नछ । यस्तै, उपविजेता टिमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, एक अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाका विभिन्न कलेजका २६ टिम सहभागी छन् ।

 
 
  
 

You may also like