शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक १६ औं वर्षमा प्रवेश

by समतल अनलाइन

बुटवल । पश्चिम नेपालमा बैंकिङ्ग अभ्यास गरिरहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक आजदेखि १६ औं वर्षमा प्रवेश गरेको छ । बैंकले पश्चिम नेपालको आर्थिक तथा औद्योगिक केन्द्र बुटवल, रुपन्देहीमा वि.सं. २०६५ फागुन ११ गतेदेखि आफ्नो बैंकिङ्ग कारोबार सुरु गरेको थियो ।

सुरुवाती चरणमा ३ जिल्लाबाट सेवा सुरु गरेकाे बैंकले वि.सं. २०६९ चैत ४ गते स्थापना भएको गुल्मीको रेसुङ्गा विकास बैंकसँग मर्जर गरेपछि शाइन रेसुङ्गा विकास बैंकको नामबाट १० जिल्लामा आफ्नो सेवा विस्तार गरेको थियो ।

त्यसपछि वि.सं. २०७३ जेठ २९ गते प्युठानको गौमुखी विकास बैंक, २०७६ असोज २७ मा नेपालगञ्जको भार्गव विकास बैंक र मंसिर १० मा भैरहवा केन्द्रित व्यवसाय गरिरहेको पूर्णिमा विकास बैंकलाई गाभेपछि राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति भएको हो ।

हाल रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको यस बैंकले शहरी र ग्रामिण दुवै क्षेत्रमा वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

हालसम्म ५ वटा विकास बैंकलाई मिलेर बनेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक स्थापना कालमा ६ करोड पुँजीबाट कारोबार गरेको थियो । शुक्रबार बुटवल आयोजित एक कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष थानेश्वर ६ करोडबाट शुरु गरेको बैंकको पुँजी ६ अर्ब पूग्न सकेको उल्लेख गरे।

उपत्यका बाहिर पनि बैंकिङ व्यवसाय गरेर सफल हुन सकिन्छ भन्ने उदाहरणको रुपमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले प्रमाणित गरेको नायव प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरु बताउँछन् ।

‘मोफसलमा रहेर पनि राम्रो पर्फमेन्स गरेर राष्ट्रिय स्तरका बैंकलाई टक्कर दिइरहेको छ, उपत्यका बाहिर पनि यो लेभलको संस्था चलाउन सकिन्छ भन्ने उदाहरण ज्वलन्त छ, उपत्यका बाहिर पनि यो लेभलको बजार छ ? बैंक सञ्चालन गर्न सकिन्छ ? भन्ने सोच अधिकांशको छ, यसको बावजुत पनि केन्द्रिय कार्यालय मोफसल बाहिर रहेर काम गर्न सक्छ भन्ने प्रमाणित गरेका छौं,’ उनले भने ।

बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा छन् । बैंकले हालै अन्तर्राष्ट्रियस्तरको एशिया इमर्जिङ बैंकिङ अवार्ड र गत वर्ष बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड जितेको थियो ।

सामाजिक क्षेत्रमा पनि योगदान

बैंकले सामाजिक सेवाका क्षेत्रमा पनि आफूलाई अग्रणी रुपाम उभ्याएको छ । बैंकले वातावरण संरक्षणका लागि चौधौ बार्षिकोत्सवमा १४ हजार र पन्ध्रौं वर्षमा एक हजार गरी १५ हजार बिरुवा आफ्ना शाखा कार्यालय रहेका क्षेत्रमा रोपेको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीमा आर्थिक पत्रकारिता पुरस्कारका लागि ५ लाख रुपैंयाको अक्षयकोष स्थापना गरेको छ । यसको ब्याज बाट हरेक वर्ष ५० हजार राशीको पत्रकारिता पुरस्कार वितरण भइरहेको छ।

बैंकले डिजिटल बैंकिङ वित्तीय साक्षरतालाई पनि उच्च प्राथमिकतामा राखेर अभियान चलाएको छ । यस्तै उद्यमशीलता विकासका लागि युवा विद्यार्थी लक्षित कार्यक्रम पनि गर्दै आएको छ ।

 
 
  
 

You may also like