बुटवलमा क्लोथ बैंकको शुभारम्भ

by समतल अनलाइन

बुटवल,बुटवलमा एक कार्यक्रमका बीच क्लोथ बैंक सञ्चालनमा आएको छ ।बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय , उप-प्रमुख सावित्रा देवी अर्याल,महानायक राजेश हमाल, र संचारकर्मी दिनेश डिसी लगायतले उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेयले क्लोथ बैंकमा जम्मा हुने कपडाले दुखी र विपन्न बर्गहरुलाई न्यानो प्रदान गर्न सकिने बताए। उनले बुटवल उपमहानगरपालिका सवै नागरिकहरु प्रति सचेत भएको बताउंदै क्लोथ बैंक सञ्चालन पछि विपन्न र गरिव बर्गका लागि हित हुने विश्वास व्यक्त गरे ।

केही दिन अघि मात्र बुटवल उपमहानगरपालिका रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपाल बीच क्लोथ बैंक सञ्चालन गर्ने संझौता भएको थियो । सम्झौता पछि शनिबार औपचारिक रुपमा बुटवलमा क्लोथ बैक सञ्चालनमा आएको हो ।

कार्यक्रममा महानायक राजेश हमालले समाज परिर्वतनका लागि युवा समुहरुले गरेको सामाजिक कार्यको प्रशंसा गर्दै उक्त कार्यमा आफु संलग्न हुन पाउंदा खुसी लागेको बताए। कुनै पनि व्यक्तिका लागि आवश्यक नभएको कपडा अरुलाई आवश्यक पर्ने भन्दै क्लोथ बैंकमा आफुलाई आवश्यक नपर्ने कपडा जम्मा गरिदिन सवैलाई आग्रह समेत उनले गरे।

मानव सेवाको लागि पुरानो कपडालाइ पुन प्रयोग भन्ने मुल नाराका साथ सुरु भएको क्लोथ बैंक बुटवलका विभिन्न स्थानमा संकलनका लागि बक्स राखिने र संकलित कपडालाई पुन प्रशोधन गरेर आवश्यकताका आधारमा वितरण गरिने क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि.सी.ले बताए। उनले आगामी दुई बर्षमा कपडा विहीनमुक्त बनाउने र २०८२ सम्ममा देशभर फूड एम्बुलेन्स समेत सञ्चालन गर्ने योजना बनाएको बताए । उनका अनुसार अहिले सम्म १५४ स्थानीय सरकार यो अभियानमा जोडिएका छन् ।

कार्यक्रममा सफल सञ्चारकर्मी एवं बरिष्ठ कलाकार दिनेश डि.सीले परोपकारी कार्य सधै मानव विकासका लागि हुने भन्दै उक्त कार्यक्रमा जोडिन सवै नगरबासीलाई आग्रह गरे । क्लोथ बैंकमा आफ्नो घरमा भएका पुरानो कपडा हुनेहरूले दान गर्न सक्ने छन भने आवश्यक पर्नेहरुले निशुल्क लिन सक्नेछन् । उक्त कार्यक्रमको सञ्चालन सञ्चारकर्मी आविश्कार खनालले गरेका थिए ।

 
 
  
 

You may also like