एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल पराजित, मलेसिया ४ विकेटले विजयी

by समतल अनलाइन

काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल पराजित भएको छ । मलेसियाको बायोमास ओभलमा आयोजक टिमसँग नेपाल ४ विकेटले पराजित भएको हो । यो हारसँगै ८ वर्षपछि महिला टि-ट्वान्टी एसिया कप क्रिकेटमा पुग्ने नेपालको सपना टुटेको छ । मलेसियाको जितमा एल्सा हन्टरको अविजित ६९ रनको योगदान महत्वपूर्ण रह्यो ।

टस जितेर ब्याटिङ गरेको नेपालले मलेसियालाई १ सय १६ रनको लक्ष्य दिएको थियो । रोमाञ्चक खेलमा मलेसियाले २० ओभरमै ६ विकेट गुमाएर १ सय १६ रन बनाएको हो ।

नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १५ रन बनाएको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक २९ रन प्रहार गरिन् । नेपालका लागि डली भट्टले २५, कविता कुँवरले २३, रुविना क्षेत्रीले २०, सीता राना मगरले ६ र कविता जोशीले २ रन जोडे ।

यो खेल जित्दै फाइनल प्रवेश गरेको मलेसियाले यसै वर्ष हुने महिला टी-२० एसिया कप क्रिकेटमा स्थान बनाएको छ ।

आज बिहान सम्पन्न पहिलो सेमिफाइनलमा यूएईले थाइल्यान्डलाई ४ रनले हराउँदै फाइनलमा प्रवेश गरिसकेको छ । यूएईले टस जितर ब्याटिङ रोज्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७० रन बनाएको थियो । जवाफमा थाइल्यान्ड ४ बल बाँकी रहँदै ६६ रनमा अलआउट भयो । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासहित वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीले सहभागिता जनाउनेछन् ।

 
 
  
 

You may also like