उद्योगी भन्छन् – आवश्यकता अनुसारको जनशक्ति पाउन सकिएन

by समतल अनलाइन

रुपन्देहीका उद्योगी व्यवसायीहरुले आवश्यकता अनुसारको जनशक्ति पाउन नसकेको गुनासो गरेका छन् । नेपालमा थुप्रै तालिम प्रदायक संस्थाहरुले प्राविधिक क्षेत्रका तालिम सञ्चालन गरेपनि ती तालिमबाट उत्पादित जनशक्तिले उद्योगी व्यवसायीको आवश्यकता पुरा गर्न नसकेको उनीहरुले बताए ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुधबार संघ सचिवालयमा एसियाली विकास बैंकसंग गरेको अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीहरुले तालिम प्रदायक संस्थाहरुले मार्केट एनालाईसिस नगरिकनै तालिम सञ्चालन गर्ने गरेका कारण एकातिर तालिम प्राप्त जनशक्तिले रोजगारी नपाएको र अर्काेतिर उद्योगी व्यवसायीले पनि सम्वन्धित विषयमा दक्ष जनशक्ति पाउन नसकेको बताएका हुन् ।

यहाँका उद्योगहरुमा दक्ष जनशक्तिको उच्च माग भएको बताउँदै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्यालले त्यसको परिपूर्तिका लागि सिटिईभिटी लगायतका तालिम प्रदायक संस्थाहरुले उद्योगी व्यवसायीसंग परामर्श गरेर तालिम सञ्चालन गर्ने हो भने उद्योगी व्यवसायीका आवश्यकता पनि पुरा हुने र उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्न सकिने बताउनु भयो । उहाँका अनुसार उद्योग, कृषि, पर्यटन लगायतका क्षेत्रमा दक्ष जनशक्तिको उच्च माग छ । तर उत्पादित जनशक्ति सम्बन्धित काममा फिट नहुँदा समस्या जस्ताको त्यस्तै छ ।

प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको लागि सरकारको ठूलो लगानी भएको छ । तर तालिम प्राप्त जनशक्तिले रोजगारी नपाउने र उद्योगी व्यवसायीहरुले पनि आवश्यकता अनुसारको जनशक्ति नपाउँदा सरकारले गरेको लगानी वालुवामा पानी राखे सरह भएको बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझाले बताउनु भयो ।

कार्यक्रममा एसियाली विकास बैंकका कन्सल्टेन्ट डा. प्रमोदबहादुर श्रेष्ठले शिक्षालाई सीप र सीपलाई रोजगारीसंग जोड्नुपर्ने बताउनु भयो । उहाँले देश विकासको लागि औद्योगिक विकास अपरिहार्य रहेको बताउँदै औद्योगिक विकासको वातावरण सरकारले तयार गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले नेपालमा प्राविधिक तालिमको नाममा लुट भईरहेको आरोप लगाउँदै सिटिईभिटीलाई खारेज गर्नुपर्ने धारणा राख्नुभयो । सरकारले साँच्चै औद्योगिक विकास चाहेको हो भने नीजि क्षेत्रलाई कस्तो कस्तो जनशक्ति चाहिएको हो, परामर्श लिएर आवश्यकताको आधारमा तालिम सञ्चालन गर्नुपर्ने भनाई राख्नुभयो ।

त्यस्तै बुटवल टेक्निकल ईन्ष्टिच्युटका कार्यकारी प्रमुख अभिमन्यु भिमार्जुन पन्थीले बिटिआईले विगत ६० वर्षदेखि अन द जब तालिम कार्यक्रम सञ्चालन गरिरहेको तालिम पश्चात उनीहरु स्वरोजगार र रोजगारीमा जोडिएको दावी गर्नुभयो । उहाँले बिटिआईले सीप, रोजगार र उद्योगलाई आपसमा जोड्ने काम गरेको बताउँदै कतिपय कुरामा नीतिगत रुपमै समाधान खोज्नुपर्ने बताउनु भयो । उहाँले यो कार्यक्रमले केही न केही आवश्यकताको उजागर गरेको बताउँदै फिल्टर वर्कशपको खाँचो औंल्याउनु भयो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, संघका कार्यसमिति सदस्य तथा बुटवल उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश समितिका कार्यसमिति सदस्य आनन्द वझा, संघका महासचिव मुक्तिप्रसाद अधिकारी लगायत संघका बस्तुगत समितिकका सभापति तथा उद्योगी व्यवसायीहरुले उद्योगी व्यवसायीको मागमा आधारित जनशक्ति उत्पादनको लागि कार्यक्रम बनाउन सुझाव राखेका थिए । कार्यक्रम संघका कार्यसमिति सदस्य कृष्णप्रसाद पाण्डेको संयोजनमा भएको थियो ।

 
 
  
 

You may also like