एभरेष्ट माविका विज्ञान, चित्रकला प्रदर्शनी तथा खाना महोत्सव सम्पन्न

by समतल अनलाइन

बुटवल । बुटवल सुख्खानगरमा रहेको एभरेष्ट इङलिस माध्यमिक विद्यालयका विद्यार्थीहरुले विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी र खाना महोत्सव गरेका छन् । विद्यालयको सहयोग तथा समन्वयमा शनिबार गरिएको प्रदर्शनीमा विद्यार्थीहरुले तीनवटै प्रदर्शनीमा विभिन्न प्रकृतिका छ÷छ वटा स्टलहरु राखेका थिए । प्रदर्शनी तथा खाना महोत्सवको कक्षा १० मा अध्ययनरत सोहन घिमिरेले बनाएको ड्रोन वेलुन ब्लाष्ट गरेर उद्घाटन गरिएको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका उपाध्यक्ष भिम बहादुर श्रेष्ठ, उपप्राचार्य उमेश रेग्मी, संचालक तथा लेखा अधिकृत ठाकुरप्रसाद ज्ञवाली, शिक्षक माधव पौडेल लगाययतले विद्यार्थी भित्र अद्भुत क्षमता भएकाले उनीहरुको क्षमता प्रदर्शनका लागि विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी र खाना महोत्सव एक उपयुक्त प्लेटफर्म भएको बताउनुभयो । उहाँले सैद्धान्तीकसँगै ब्यवहारिक र सीममुलक ज्ञानका लागि विद्यालयमा आयोजना हुने विभिन्न खाले प्रदर्शनी तथा अतिरिक्त कृयाकलापले विद्यार्थीको बौद्धिक क्षमताको विकास हुने बताउनुभयो ।

शिक्षक राजिव वेल्बासे र डाक्टर शालिकराम भण्डारीको संयोजनमा भएको विज्ञान प्रदर्शनीमा विद्यार्थीले बनाएको प्लेन, सेन्सर डस्टवीन, सेन्सर रोबोट, भोलक्यानो, इलेक्ट्रोनिक ग्याजेट, सुन्दर वातानुकुलित वस्ती लगायतका प्रोजेक्टहरु विद्यार्थीहरुले बनाएर प्रदर्शन गरेका थिए । यस्तै शिक्षक विशाल थापाको संयोजनमा भएको चित्रकला प्रदर्शनीतर्फ एतिहासिक स्थल, विश्वप्रसिद्ध ब्यक्तित्वका तस्वीर, वातावरणमैत्री शहरसँगै सृजनशिल तस्वीरहरु प्रदर्शन गरेका थिए । त्यसैगरी होटल ब्यवस्थापन शिक्षक सरोज राना र प्रारम्भ न्यौपानेको संयोजनमा भएको खाना महोत्सवतर्फ मःम, चाउमिन, पकोडा, फ्राई आइसक्रिम, पोटेटोफ्राई, कपि लगायतका खानेकुरा पकाएर प्रदर्शन तथा विक्रि वितरण गरेका थिए । खाना महोत्सवतर्फ ११ र १२ को ब्यवस्थापनका विद्यार्थीहरुले आफै पकाउँदै, बेच्दै सीपको विकास गरेको विद्यालयका सहप्राचार्य भिमसेन गौतमले जानकारी दिनुभयो ।

विद्यार्थीको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले विद्यालयको सहयोग र संयोजनमा गरिएको प्रदर्शनीमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको विद्यालयका सहप्राचार्य गौतमले जानकारी दिनुभयो । कक्षा तीनदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले तीनवटै विधामा आआफ्ना रुचीका आविश्कारहरु प्रदर्शन गरेको उहाँले बताउनुभयो । शनिबारनै विद्यालयमा प्रारम्भिक कक्षादेखि माविसम्मको परिक्षाफल प्रकाशन गरिएको थियो ।

 
 
  
 

You may also like