रामबहादुर बम्जनलाई थुनामा पठाउन आदेश

by समतल अनलाइन

सर्लाही । हत्या, बलात्कार र मानिस बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । आज (बिहीबार) सात जना वकिलहरूले बहस गरेका थिए । प्रतिवादी बम्जनका तर्फबाट पाँच जना र वादीको तर्फबाट दुई जना सरकारी वकिलले बहस गरेका हुन् । अदालतमा बम्जनले १२–१४ वर्षीय किशोरीलाई बलात्कार र यौन दुरूपयोग गरेको मुद्दामा सुनुवाइ भएको थियो ।

बम्जनविरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मंगलबार राति साढे ७ बजे बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ हात्तीगौडास्थित उनको घरबाट पक्राउ गरेको थियो । फरार रहेका बमजनलाई सीआइबीका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले गत मंगलबार पक्राउ गरेको थिया े। प्रहरी घर पुग्दा उनले भाग्ने प्रयास गरेका थिए । उनलाई सीआइबीले बुधबार सार्वजनिक गरेको थियो ।

उनलाई बुधबार नै गाडीबाट सर्लाही लगिएको प्रहरीले जनाएको छ । बम्जनले लामो समयदेखि तपश्वीको भेषमा सिन्धुपाल्चोक, बारा, सर्लाही र सिन्धुली लगायत विभिन्न जंगलभित्र आश्रम खोलेर बस्थे । उनले आफूलाई ‘लिटिल बुद्ध’ भनेर दावी गर्थे ।
बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोटे, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता छन् । बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता भएका थिए । बमजनकै आदेशमा सिन्धुपाल्चोकको आश्रममा वाइबालाई कुटेर मारेको भन्ने प्रत्यक्षदर्शीहरूले बताएका थिए ।

२०७५ भदौ ३० गते रौतहटकी १८ वर्षीया गंगामाया तामाङले ललितपुरस्थित सामुदायिक सूचना नेटवर्कको कार्यालयमा पत्रकार सम्मेलन गरेर बमजनले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । उनले चार वर्ष बमजनको आश्रममा बस्दा देखेका र भोगेका दुर्व्यवहारबारे सार्वजनिक गरेकी थिइन् ।

बम्जनले आफू दुई महिनाअघि मात्रै काठमाडौं आएको भनेर सिआइबीलाई बयान दिएका छन् । बयानमा उनले काठमाडौं आएर घरमै बसिरहेको पनि भनेका छन् । सीआइबीले उनको घरबाट स्रोत नखुलेका नगद पनि बरामद गरेको थियो । प्रहरीले कुल ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बराबरको नगद बरामद गरेको छ । १७ देशका विदेशी मुद्राहरू ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको बरामद गरेको थियो ।

सिआइबीले उक्त रकमको स्रोतबारे पनि अनुसन्धान गर्ने जनाएको छ । त्यसबाहेक सिआइबीले उनको घरबाट महंगा गाडी बरामद गरेको छ । बमजनले चढ्ने टोयोटा फर्च्युनर गाडी, क्रस फायर मोटरसाइकल, ३९० सिसीको केटिएम ड्युक, यमहा रे जेडआर स्कुटर बरामद गरिएको छ ।

 
 
  
 

You may also like