बुटवलमा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी सुरु

by समतल अनलाइन

बुटवल । बुटवल उपमहानगरपालिकाले पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० को तयारी लाई तिव्रता दिएको छ । माघ ४ गतेदेखि ६ गतेसम्म संचालन हुने प्रतियोगिता सम्पन गर्नको लागि विभिन समितिहरु गठन गरेर तयारीलाई तिव्रता दिएको हो । नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाँको संयोजगत्वमा हुने प्रतियोगितामा १० वटा विधागत समिति गठन गरेर तयारीलाई तिव्र पारिएको हो ।

बुटवल उपमहानगरपालिकामा बिहिबार बसेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता ब्यवस्थापन समितिको बैठकमा अध्यक्ष पियाँले ३ दिनसम्म संचालन हुने प्रतियोगितलाई भब्य रुपमा सम्पन्न गर्नको लागि १० वटा समिति गठन गरिएको र आफ्नो जिम्मेवारी अनुसार काम गर्नको लागि आग्रह गर्नुभयो । प्रतियोगितामा २० वटा सामुदायिक र २२ वटा निजी गरी ४२ वटा विद्यालयले भाग लिने उहाँले जानकारी दिनुभयो । प्रतियोगितमा १७ विधाका ५४ खेलमा ३५० विद्यार्थीले भाग लिने अध्यक्ष पियाँले बताउनु भयो । प्रतियोगितामा १८ वर्ष भन्दा मुनिका विद्यार्थीले भाग लिन पाउँने र खेलाडीहरुको बीमाको समेत ब्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

नगर उपप्रमुख सावित्रादेवी अर्यालले पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अनुशासन तरिकाले संचालन गर्नको लागि निर्देशन दिनुभयो । विद्यार्थीले आफ्नो प्रतिभा प्रस्फुटन गर्नको लागि प्रतियोगिता अवसर रहेको बताउँदै प्रतियोगितालाई नियम संगत अनुशासन ढङ्गले संचालन हुनु पर्नेमा जोड दिनुभयो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले रनिङ्ग शिल्ड संचालनको लागि नगरले २० लाख र केन्द्र सरकारबाट १ लाख गरि २१ लाख बजेट छुट्टाएको जानकारी दिनुभयो । विद्यार्थीमा भएका प्रतिभा प्रस्फुटनमा प्रतियोगिताले सहयोग मिल्नेमा उहाँले विश्वास ब्यक्त गर्नुभयो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख बिजयराज पण्डितले प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा मद्धत पुग्ने बताउनु भयो । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः २५ हजार , १७ हजार र १० हजार नगद सहित पुरस्कार प्रदान गरिने नगर खेलकुद विकास समितिका सचिब प्रेम बस्नेतले जानकारी दिनुभयो । यस्तै प्रतियोगिताको उद्घाटनमा मार्चपाससहितको र्यालीको मूल्याङ्कनको अधारमा प्रथम,द्धितिय र तृतिय हुनेलाई क्रमशः १० हजार ५ हजार र २५ सय पुरस्कार प्रदान गरिने उहाँले बताउनु भयो । रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबल, कबडी, एथलेटिक्स, उसु , रिले, तेक्वान्दो, कराते संचालन हुने सचिब बस्नेतले बताउनु भयो । यस्तै बैठकमा बुटवल वडा नंं ५ का वडा अध्यक्ष हरि प्रसाद श्रेष्ठ , प्रतियोगिताका , सहसंयोजक लालहरि पाण्डेय खेलकुद शाखा अधिकृत कोपिला ज्ञवाली लगायतले बोलेका थिए । गत वर्षको रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि कालिका मानवज्ञान माविले प्राप्त गरेको थियो ।

 
 
  
 

You may also like