राम जन्मभूमि अयोध्याबाट १०८ कुमार विवाह गर्न कन्या खोज्दै जनकपुर आउने

by समतल अनलाइन

भारतको सर्वाेच्च अदालतले अयोध्यामा विवादित भूमिमा राम मन्दिर बनाउन फैसला सुनाएको छ । राम मन्दिरका पक्षमा अदालतको फैसलापछि रामभक्त खुशी छन् ।

खुशीयालीबीच यसपालिको रामसीता विवाह पञ्चमीमा अयोध्याका १०८ कुमार केटा विवाहका लागि कन्या खोज्दै २ नम्बर प्रदेशको जनकपुरधाम आउने भएका छन् । राम समेत कन्या खोज्दै जनकपुर आएपछि सीतासँग विवाह भएको थियो ।
हरेक वर्ष मनाइने विवाह पञ्चमीलाई भारतीय पक्षले यसपालि भव्यताका साथ मनाउने तयारी गरेको छ । विवाह पञ्चमीमा अयोध्याबाट आएका १०८ जोडीले जनकपुरमा विवाह गर्ने भएका छन् ।

भारतको उत्तर प्रदेश, बिहार, मध्य प्रदेश लगायत क्षेत्रका दुलाहा र जनकपुरकी दुलहीबीच विवाह हुने विश्व हिन्दू परिषद्लाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका छन् । रामको विवाह रथ र बैण्डबाजा सहित जनकपुर आउने छ । विवाह कार्यक्रम १ डिसेम्बरको दिन जनकपुरको दशरथ मन्दिरमा हुनेछ ।

विवाह समारोहमा दुवै देशका प्रमुख अतिथि को–को हुने भन्ने यकिन भइनसकेपनि प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई निमन्त्रणा पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

‘विवाह समारोहमा मुख्यमन्त्री योगी सहभागी हुन सक्नुहुन्छ,’ विश्व हिन्दू परिषद्को अवध क्षेत्रका प्रवक्ता शरद शर्माले भने ।

अयोध्याको जानकी घाटबाट बिहीवार शुरू हुने राम विवाह कार्यक्रम १३ दिनसम्म चल्नेछ ।

 
 
  
 

You may also like