लुम्बिनी एक्स्पो-२०८० : दुई दिनमा ३ लाख बढी दर्शकले गरे अवलोकन

मेला स्थलमा वृृद्धवृद्धालाई सम्मान

by समतल अनलाइन

बुटवल।रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा बुटवलमा जारी लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलामा २ दिनमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । मेला सञ्चालन भएको १० औं र ११ औं दिनमा सार्वजनिक बिदा परेका कारण मेलाको अवलोकन गर्न ठूलो संख्यामा अवलोकनकर्ताहरु आएका थिए ।

मेला सचिवालयका अनुसार प्रदर्शनी स्थलमा २ दिनमा करिब ३ लाख दर्शकहरु अवलोकनका लागि आएको अनुमान गरिएको छ । सार्वजनिक बिदा परेका कारण मेला हेर्न स्कूलमा अध्ययन गर्ने विद्यार्थी तथा अभिभावहरु तथा कार्यालयहरुमा काम गर्ने दर्शकहरुसंगै महिलाहरुको अत्याधिक आएका थिए ।

प्रदर्शनी स्थल बुटवल मण्डपको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रको क्षेत्र अवलोकनकर्ताहरुले भरिभराउ भएको थियो । दर्शकहरुको भिड बढेपछि लाइन व्यवस्थापन गर्दै सहज प्रवेश र निकास र प्रवेशद्वारहरु पनि थप गरिएको थियो ।

मेलामा दर्शकहरुको अत्यधिक भिडलाई नियन्त्रण गरी सहज रुपमा अवलोकन गर्ने व्यवस्था मिलाउन आयोजकहरुलाई हम्मेहम्मे परेको थियो । दर्शकहरुको लगातारको आगमन प्रदर्शनी स्थलमा स्थानको अभाव भएपछि प्रवेशको क्रममा दर्शक रोकेर व्यवस्थापन गर्नु परेको मेला प्रवन्धक सरोज पोखरेलले बताए ।

हिजो शनिबार पनि मेला अवलोकन गर्न ठूलो संख्यामा दर्शकहरु पुगेका थिए । प्रदर्शनी स्थलमा दर्शकहरु टिकट काटेर अवलोकन गर्न बिहानैबाट ओइरो लाग्न थालेका थिए । सार्वजनिक बिदा परेका कारण दर्शकहरुको भिड अत्याधिक हुने अनुमान गरिएको भए पनि आयोजकले अनुमान गरेको भन्दा धेरै दर्शक आएपछि व्यवस्थापनमा केहि समस्या परेको थियो । प्रर्दशनी स्थलभित्र रहेका स्टल क्षेत्र, मञ्च रहेको खुल्लाचौर र बालउद्यानको क्षेत्रमा मान्छे उभिने ठाउँको अभाव भएको मेलाका सदस्य सचिव दयानिधि भण्डारीले बताए ।

मेला सचिवालयले दिएको जानकारी अनुसार शनिवार र आइतवार सार्वजनिक विदाका दिन मेला अवलोकन गर्न करिव ३ लाख दर्शक मण्डपमा प्रवेश गरेको अनुमान गरिएको छ । मेला अवलोकन गर्न आउने दर्शकहरुलाई टिकट लिन सहजहोस भन्दै आयोजकको तर्फबाट बिहानै टिकट काउन्टर थप गरी प्रवेश टिकट बिक्री गरिएको मेला सहसंयोजक दिपक अधिकारीले बताए । दर्शकहरुको भिड बढेपछि टिकट बिक्रिको व्यवस्थापन र कुनै दुर्घटना नहोस् भनेर आयोजक मुल समितिका सदस्यहरु सबै जना खटिएका थिए ।

आइतवारको दर्शकहरुको उपस्थिति हालसम्मको सबैभन्दा धेरै रहेको अवलोलनकर्ताहरुले नै बताएका छन् । आयोजक संस्था रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले दर्शकहरुको उपस्थितिले आगामी आयोजनाका क्रममा थप सचेत बनेर काम गर्नुपर्ने कुरा सिकाएको बताउँछन । मण्डपको क्षमताभन्दा बढी दर्शहहरुको घुइँचो बढेको अवस्थामा टिकट बिक्रीबन्द गरी व्यवस्थापन गर्ने काम गरिएको थियो । मण्डप भित्रका दर्शकहरुलाई बाहिर निकाल्नका लागि छुट्टै निकासको व्यवस्था गरिएको थियो । दर्शकहरुको भिडका कारण बुटवल मण्डप पुरै भरिएको थियो । उता स्टलको बाटोमा हिडेका दर्शकहरुको भिडका कारण एक अर्कालाई धकेल्दै अगाडि बढ्ने अवस्था सिर्जना भएको थियो ।

मेला स्थलमा वृृद्धवृद्धालाई सम्मान
मेला सञ्चालन भैरहेको अवस्थामा रुपन्देही व्यापार संघले आइतवार मेला स्थलमा विभिन्न क्षेत्रका ३० जना वृद्धवृद्धालाई सम्मान गरेको छ । मेलामा एक कार्यक्रमको आयोजना गरि रुरु मिलन केन्द्र शंकरनगरको पहलमा ३० वृृद्ध महिला तथा पुरुषलाई संघले दोसल्ला ओढाएर सम्मान गरेको हो ।

वृद्धवृद्धाहरुलाई संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली, पूर्व अध्यक्षहरु मोति प्रसाद पाण्डे, पदम प्रसाद श्रेष्ठ, संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले संयुक्त रुपमा सम्मान गरेका थिए ।

 
 
  
 

You may also like