बालकुमारी घटनाका मृतकका परिवारलाई १०–१० लाख दिने सरकारको निर्णय

by समतल अनलाइन

काठमाडौं । मन्त्रिपरिषदको वैठकले बालकुमारीमा भएको घटनामा मृत्यु भएका दुई युवकको परिवारलाई जनही १० लाखका दरले क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

आज (शनिबार) बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई १०–१०स लाख रूपैयाँ दिने र घाइतहरूको उपचार सरकारले गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सोबापतको रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा दिने निर्णय भएको छ ।

उनका अनुसार बैठकले शुक्रबारको घटनाबारे दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ । घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्ने र भविष्यमा यस्ता प्रकृतिका घटना हुन नदिन गृह मन्त्रालयले सुरक्षा निकाय र अन्य सम्बद्ध निकायलाई थप सतर्क संयमित तथा प्रभावकारी बनाउने भन्ने पनि निर्णय पनि आजको मन्त्रिपरिषद् बैठकबाट भएको मन्त्री शर्माले जानकारी दिइन् ।
बैठकले आगामी दिनमा यस्ता घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेकाले घटनालाई संयमतापूर्वक लिई शान्ति सुरक्षाको वातावरण बिग्रन नदिन सबैलाई आह्वान गरेको छ । शुक्रबार इपिएस भाषा परीक्षाको विषयलाई लिएर आन्दोलित भएकाहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनी गरेका थिए ।

त्यसपछि तनावग्रस्त बनेको ग्वार्को क्षेत्रमा प्रहरीले लाठी चार्ज, अश्रुग्यास र गोली समेत चलाएको थियो । घटनामा २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुअघि प्रधानमन्त्री प्रचण्डले बिहान गृहमन्त्री सहित सुरक्षा निकायका प्रमुख र अन्य अधिकारीहरूसँग छलफल गरेका थिए ।

शनिबार बिहानकै बैठकले शुक्रबार फिल्डमा खटिएका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पिएसओलाई निलम्बन गर्ने निर्णय पनि गरेको थियो । यस्तै, ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई पनि प्रहरी हेडक्वार्टर र सिडिओ रूद्रप्रसाद पण्डितलाई थप सोधपुछका लागि गृह मन्त्रालय तान्ने निर्णय गरेको थियो ।

 
 
  
 

You may also like