काठमाडौं । ललितपुरको बालकुमारीमा आज (शुक्रबार) भएको आन्दोलनमा ज्यान गुमाउने युवकको पहिचान खुलेको छ । ग्वार्कोस्थित किस्ट अस्पतालका अनुसार उनी जुम्लाका २३ वर्षीय सुजन राउत हुन् ।
अस्पतालका चिफ अफ अपरेसन अमिस पाठकका अनुसार मध्यान्न १२ः४० बजे उनलाई अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । तत्काल मेडिकल टिमले सीपीआर दिएर जगाउने प्रयास गर्दा पनि सफल नभएको उनले जानकारी दिए । अस्पतालले दिउसो १ः१७ मा उनलाई मृत घोषणा गरेको हो ।
अहिले अस्पतालमा प्रहरी र प्रशासनको टोली आएको छ । मृतकको छातीमा कालो निलडाम देखिएको छ । यद्यपि, शरीरमा गोली लागेको भेटिएको छैन । पोस्टमार्टमबाट मृत्युको मात्र कारण खुल्ने डा. पाठकले बताएका छन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरुले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्यास हानेको थियो । एक युवक बालकुमारी क्षेत्रमा अचेत भेटिए । तत्काल किस्ट अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भयो । प्रहरीले गोली लागेर एक युवकको मृत्यु भएको बतायो ।