भारतमा कोरोनाको नयाँ ‘भेरिएन्ट’, पाँच जनाको मृत्यु

by समतल अनलाइन

नयाँदिल्ली । भारतमा कोरोना भाइरस फेरि फैलिन थालेको छ । पछिल्लो (शनिबार) एक दिनमै पाँच जनाको कोरोनाबाट मृत्यु भएको छ । भारतको दक्षिणी राज्य केरलमा कोरोनाको नयाँ भेरिएन्ट जेएन डट वान भेटिएको छ ।

भारतमा आइतबार मात्रै ३३५ जना नयाँ कोभिड संक्रमित भेटिएका छन् । अहिले पनि त्यहाँ सक्रिय संक्रमितको संख्या १७ सय एक रहेको छ । कोभिड १९ विस्तारै उकालो लाग्न थालेपछि भारत सरकारले नागरिकलाई सचेत गराएको छ । केरलमा कोभिडको नयाँ सब भेरिएन्ट जेएन डट वान भेटिएको छ । यसबाट गत १७ डिसेम्बरमा चार जनाको ज्यान गएको छ । अर्कातिर नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशमा पनि कोभिडबाट शनिबार एक जना संक्रमितको ज्यान गएको छ । तर उनी कोरोनाको नयाँ भेरिएन्टबाट संक्रमित भए–नभएको खुलेको छैन ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा आइतबार ३३५ नयाँ संक्रमित थपिएका छन्। जसबाट त्यहाँ सक्रिय संक्रमित विस्तारै बढेर १७०१ भएको छ । नयाँ सब–भेरिएन्ट जेएन डट वानलाई लिएर कर्नाटक सरकारले चेतावनी जारी गरेको छ । अर्कातिर केरलमा स्वास्थ्य मन्त्री विना जार्जले चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउँदै निरन्तर अनुगमन भइरहेको उल्लेख गरेका छन् ।

केरलमा अहिले पनि १,३२४ संक्रमितको उपचार भइरहेको छ । शनिबार मात्रै त्यहाँ चारजनाको ज्यान गइसकेको छ । भारतीय आयुर्विज्ञान अनुसन्धान परिषदका महानिर्देशक डा. राजीव बहलका अनुसार यो मामिला ८ डिसेम्बरका दिन केरलको तिरुवनन्तपुरमबाट आएको हो ।

त्यसबेला एक जना ७९ वर्षीय महिलालाई कोभिड पुष्टि भएको थियो । ती महिलाले इन्फ्लुएन्जा जस्तो बिरामीको हल्का लक्षण रहेको बताएकी थिइन् । तर उनी उपचारपछि निको भइसकेकी छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म पाँच लाख मानिसको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा कोरोना संक्रिमतको संख्या ४० करोड ५० लाख नाघेको छ । यसबाट निको हुनेको संख्या ४० करोड ४४ लाख ६९ हजार ७९९ छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुनेको दर ९८.८१ प्रतिशत छ । एजेन्सी

 
 
  
 

You may also like