कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु

by समतल अनलाइन

काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज (बुधबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा आज यो वर्षसम्मै न्यून तापक्रम मापन गरिएको छ । बिहान ५ः४५ बजे काठमाडौंमा ५.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ‘५.८ डिग्री सेल्सियस तापक्रम काठमाडौंमा यो वर्षको आजसम्मको न्यून तापक्रम हो’, मौसमविद् सरोज पुडासैनीले भने ।

 
 
  
 

You may also like