सहमतिका आधारमा संघीयताका बाँकी काम टुङ्गो लगाउनु पर्छ : सभापति देउवा

by समतल अनलाइन

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका आधारमा सङ्घीयताका बाँकी काम टुङ्गोमा पुर्‍याउनु पर्ने बताएका छन् ।

धनुषाको औरही गाउँपालिका–४ मा आज नेपाली कांग्रेसका पुराना नेता एवं धनुषा निर्वाचन क्षेत्र नं २ का पूर्वसभापति राजकिशोर सिंह राजपुतको सालिक अनावरण गर्दै सभापति देउवाले सङ्घीयतालाई बलियो बनाउन प्रदेशलगायत निकायले उठाइरहेका सवाल सम्बोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता औँल्याए ।

सभापति देउवाले प्रजातन्त्रका लागि पञ्चायतकालदेखि नै सक्रिय नेपाली कांग्रेसका प्रतिबद्ध नेता सिंहले पार्टी सङ्गठन र परिवर्तनका लागि भएका आन्दोलनमा पुर्‍याएको योगदानको सम्मानका लागि पनि पार्टी नेता कार्यकर्तालाई क्रियाशील हुन आग्रह गरे । ‘स्वर्गीय सिंह पार्टीको सम्पत्ति हुनुहुन्छ, उहाँको अनुपस्थितिले हाम्रो पार्टी र लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति भएको छ । त्यो क्षतिपूर्तिका लागि हामी सबैले उहाँको सपना सकार गर्न लाग्नुपर्ने पर्छ । त्यसका लागि क्रियाशील हुन म अनुरोध गर्दछु’, सभापति देउवाले भने ।

कार्यक्रममा पार्टीका पूर्व उपसभापति एवं प्रतिनिधिसभा सांसद विमलेन्द्र निधिले संविधानअनुसार दुई–दुईपटक निर्वाचन भइसक्दा पनि सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण काम बाँकी रहेको भन्दै दलहरुले गम्भीर बन्नुपर्नेमा जोड दिए । उनले परिवर्तनका लागि भएका सबै आन्दोलनको नेतृत्व मधेस र कांग्रेसले गरेका भन्दै सङ्यीयता कार्यान्वयनको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्नेमा जोड दिए । आगामी महासमिति बैठकमा सङ्घीयतासँग जोडिएका बाँकी काम, प्रदेशलाई बलियो बनाउन प्रहरी प्रशासन, निजामती कर्मचारी, स्थानीय तहले काठमाडौँ धाउनुपर्ने अवस्था अन्त्य गर्ने विषय मुख्य एजेन्डा बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

 
 
  
 

You may also like