संघियतामा गएतापनि बनेनन् अझै अपांगमैत्री संरचना

by समतल अनलाइन

बुटवल । मुलुकमा संघीयता लागू भएपनि सो अनुसार स्थानीय सरकार र त्यहाँका भौतिक संरचनाहरु अपाङ्गमैत्री बन्न नसकेको गुनासो गरेका छन् । नेत्रहिन युवा संघ रुपन्देहीले माईराईट्ससँगको सहकार्यमा विगत १ वर्षदेखि गरेका कार्यक्रम र स्थानीय सरकारसम्म पुग्दा पूर्ण रुपमा अपाङ्ग मैत्री भौतिक संरचनाहरुसँगै नीति निर्माणमा कमजोरीहरु देखिएको निष्कर्शमा पुगेको हो ।

नयाँ बनेका भौतिक संरचनाहरुलाई अपाङ्गमैत्री दाबी गरिएको भएपनि त्यो प्रयाप्त नभएको संघका अध्यक्ष जीवन पोख्रेलले गुनासो गर्नु भयो । रुपन्देहीका केही पालीकाहरुमा अपाङ्ग तथा दृष्टिविहिनहरुको सहजीकरणका लागि फोकल प्रशननै राखेर असल अभ्यास गरेको भेटिए पनि सो अनुसारको भौतिक संरचनाहरु भने नभेटिएको बताउनु भयो । यसैगरी अपाङ्गमैत्री भौतिक संरचना भएका पालिकाहरुमा समेत त्यसको पूर्ण कार्यान्वयन र फोकल प्रशन नहुँदा सेवा लिन समस्या हुने गरेको अनुभव सुनाउनु भयो ।

माईराईट्ससँगको सहकार्यमा सञ्चालित परियोजना रुपन्देहीमा हालसम्म गरिएका क्रियाकलाप बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पोख्रेलले स्थानीय सरकार आएसँगै केही असल अभ्यास पनि भएको उल्लेख गर्नु भयो । परियोजना मार्फत दृष्टिविहिन विद्यार्थीहरुको लागि पिडीएफ अक्षर पढेर सहजताको लागि ओसीआर तालिम, संस्थागत कार्यक्षमता विकास तालिम, कानुनी साक्षरता, दृष्टिविहिन बाल क्लव गठनसहित पालिकामा अपाङ्गता भएका युवाहरुको पैरवीको लागि समेत कार्यक्रम गरिएको उहाले बताउनु भयो ।

परियोजनाले युवाहरुको क्षमता र सीप विकासमा ठूलो परिर्वतन ल्याएको बताउनुभयो । नेत्रहिन युवा संघ रुपन्देही २०७० सालमा स्थापना भएर २०७२ सालमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता भएको थियो । अपाङ्गता भएका युवाहरुलाई क्षमता बिकास र सीपसँगै रोजगारीमा जोड्ने प्रयास गरिरहेको अध्यक्ष पोख्रेलले बताउनु भयो ।
संघले सङ्घीय संसद्मा पेश भएको विद्यालय शिक्षा विधेयकमा उल्लेखित विभिन्न प्रावधानहरूमा आवश्यक सुधार तथा परिमार्जन गर्दै अपाङ्गता भएका व्यक्तिमैत्री बनाउनको लागि पैरवी गर्दै आएको संघका कार्मचारी लक्ष्मी पाण्डेले जानकारी दिनुभयो । नेपाल सरकारले आत्मसाथ गरेको समावेशी शिक्षाको मर्म र मान्यतालाई अङ्गिकार गर्दै पहुँचयुक्त र समावेशी शैक्षिक प्रणाली विकास र प्रवर्द्धनको लागि तनै तहको सरकार तथा सरोकारवाला निकायहरुसँग आवश्यक पैरवी र सहकार्य गरेको उहाले बताउनु भयो ।

संघका सदस्य टिकाराम घिमिरेले विद्यालय तथा उच्च शिक्षामा दृष्टीसम्बन्धी अपाङ्गता भएका बालबालिका एवं विद्यार्थीहरूलगायत सबै किसिमका अपाङ्गता भएका विद्यार्थीहरूको पहुँचको लागि छात्रवृत्ती एवं पहुँचयुक्त शैक्षिक सामाग्रीको सुनिश्चितता माग गर्नु भयो । यसैगरी पहुँचयुक्त र समावेशी सिकाई वातावरण, पहुँचयुक्त सुचना, सञ्चार तथा शैक्षिक सामग्री विकास र प्रवर्द्धनको लागि गम्भिर छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।

 
 
  
 

You may also like