भुटानी शरणार्थी प्रकरण : खाँणको निवेदनमा मंसिर २८ मा सुनुवाइ

by समतल अनलाइन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतको आदेशले थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनले तेस्रो न्यायाधीश समक्ष सुनुवाइका लागि मंसिर २८ गतेको पेसी तोकेको हो ।

उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार खाँणसँग धरौटी माग गर्ने कि थुनामै पठाउने भन्ने सम्बन्धमा उक्त दिन एक न्यायाधीशको इजलासमा सुनुवाइ हुनेछ । यसअघि दुई न्यायाधीशको राय बाझिएपछि उनको निवेदन तेस्रो न्यायाधीशको इजलासमा पुगेको थियो ।

मंसिर १५ गते शुक्रबार भएको आदेशमा उच्च अदालत पाटनले नौं प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो । त्यसैगरी ६ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो ।

खाँणको हकमा रायमाझी भएपछि बाँकी नै रहेको थियो । उच्चले अर्का मन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायतलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको थियो । उनीहरुको संलग्नता अस्वीकार गर्न नसकिने दाबी उच्चको थियो । खाँणको हकमा पनि एक न्यायाधीशले ३० लाख धरौटी माग सकिने राय दिएका थिए भने अर्का न्यायाधीशले खाणसँग जोडिएका धेरै कुरा देखिएको भन्दै धरौटीमा रिहा गर्न नसकिने भनेको थियो ।

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको भनी उच्च तहमा दायर भएको भ्रष्टाचार मुद्दा भएका कारण उच्चले पनि अधिकांश भीभीआईपीहरुलाई थुनामै पठाएको थियो । जिल्ला अदालत काठमाडौंले भने २ जनालाई मात्र धरौटी माग गर्दै अन्य सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

 
 
  
 

You may also like