धरौटी र साधारण तारखेमा रिहा हुने चार जनालाई आज सम्पत्ति शुद्धीकरण विभाग लगिंदै

by समतल अनलाइन

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा उच्च अदालतको आदेशअनुसार धरौटी रकम बुझाएका तीन जना र साधारण तारिखमा रिहा हुने एक जनालाई आज (सोमबार) सम्पत्ति शुद्धीकरण विभाग लगिंदै छ ।

उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको पनि मुद्दा भएकाले त्यहाँ बुझाउन लागिएको हो । सरकारी कर्मचारीलाई भने त्यसपछि अख्तियारमा पनि बुझाइने छ । उच्च अदालतको आदेशबमोजिम नरेन्द्र केसीले १० लाख, शमशेर मियाँले १० लाख र हरिभक्त महर्जनले १५ लाख रुपैयाँ धरौटी आइतबार बुझाएका हुन् । यस्तै आशिष बुढाथोकीलाई साधारण तारेखमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ ।

केन्द्रीय कारागारका प्रमुख ललितकुमार बस्नेतका अनुसार चारै जनालाई रिहा गर्न आइतबारै पत्र आइसकेको भए पनि ढिला भएकाले सोमबार मात्रै रिहा गरी सम्पत्ति शुद्धीकरण विभागमा पठाउन लागिएको हो । उच्च अदालत पाटनले शुक्रबार नक्कली शरणार्थी प्रकरणका ६ अभियुक्तलाई धरौटीमा तथा ४ जनालाई साधारण तारेखमा रिहा गर्न र ९ जनालाई थुनामै राख्न आदेश दिएको छ ।

लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंककुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेख तथा टेकनाथ रिजाल, नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ, सन्दीप रायमाझी र रामशरण केसीलाई धरौटीमा छाड्न आदेश भएको हो ।

 
 
  
 

You may also like